भरतपुर, २६ भदौ :
भरतपुर २८ अन्द्रौलीमा रहेको राष्ट्रिय आधारभूत विद्यालयले ७५ जना भन्दा बढिलाई सम्मान गरेको छ ।
शनिवार प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा चन्दाताहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेर विद्यालयले विद्यालयको जग्गादाता, चन्दादाता र अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द प्रसाद सापकोटाले बताउनु भयो । सम्मानित हुने शिक्षकमा पुर्व प्रअ एकदेव न्यौपाने र कल्याण कुशुम कँडेल हुनुहुन्छ ।
तीन बर्ष अघि यस बिद्यालयमा विद्यार्थी सख्या न्युन भएपछि छिमेकी बिद्यालयसँग समायोजन गर्ने तयारी थियो । तर बिद्यालयमा पुर्व विद्यार्थी र स्थानियको पहलमा विद्यालयको शैक्षिक र भौतिक सुधारसंगै विद्यार्थीहरुलाई निशुल्क आवश्यक सामाग्रीहरु निशुल्क प्रदान गरेर विद्यालयको सुधार अभियाननै चलाएका थिए । सामाजिक संजाल फेस्बुक मार्फत आर्थिक संकलन गरेर सुधार गरिएको विद्यालयमा अहिले ३५ जना विद्यार्थीबाट ८५ जना विद्यार्थी पुगेको अध्यक्ष सापकोटाले बताउनु भयो । उहाँका अनुसार जग्गादाता स्व. तुल बहादुर कुमालको परीवार, २ जना अवकाश प्राप्त पुर्ब शिक्षक तथा प्रध्यानध्यापक सहित सामाजिक संजाल वा विद्यालयमानै आएर सहयोग गर्ने ७५ जना व्यक्तिहरुलाई विद्यालयले सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि शैक्षिक प्रशासन महाशाखा भरतपुरका प्रमुख महेन्द्र प्रसाद पौडेलले सम्मानितहरुलाई सम्मान पत्र र खादाले सम्मान गर्नु भएको थियो । सम्मान कार्यक्रममा जनप्रतिनिधि पुर्ण बहादुर कुमाल, समाजसेवी अर्जुन भण्डारी, आकाश सुनार, देबी प्रसाद सापकोटा, लोकनाथ सापकोटा, हरी सापकोटा, कल्पना सापकोटा लगाएत विद्यार्थी, अबिभाबक तथा चन्दादाताहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि पौडेलले भरतपुरका सामुदायिक विद्यालयमा अभिभावक विद्यालर्थीको मोह बड्दै गएको भन्दै यस विद्यालयको शैक्षिक र भौतिक सुधारमा पनि महानगरपालिकाले निरन्तर काम गरेको बताउनु भयो ।
२०२४ सालमा स्थापना भएको राष्ट्रिय आधारभूत विद्यालय भरतपुर २८, अन्द्रौली पश्चिम चितवनकै पुरानो मध्येको एक विद्यालय हो ।





