चितवन,चैत १९ ।
भरतपुर अस्पतालको क्यान्टीनमा बेसहारालाई निःशुल्क खाना व्यवस्था गरिएको छ । अस्पताल भित्र रहेको दिदी बहिनी फाष्ट फुडले अस्पतालमा उपचारका लागि आउने विपन्न विरामीलाई निःशुल्क खानाको व्यवस्था गरेको हो । कोरोना संक्रमणको सन्त्रासले विश्व नै आक्रान्त भइरहेको र नेपालमा लकडाउनको अवस्थामा अस्पतालको क्यान्टिनले निःशुल्क खाना खुवाएको संचालक उपेन्द्र पण्डितले जानकारी दिनुभयो । सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवधिभर अस्पतालले बेसाहारा मानेर निशुल्क उपचार गराएका बिरामीका लागि आफूले निशुल्क खानाको व्यवस्था गरेको उहाँको भनाई छ ।
‘अस्पतालले कुनै बिरामीलाई बेसाहारा मानेर निशुल्क उपचार गरेको छ भने त्यस्ता बिरामीलाई हामी लक डाउनको यो अवधिभर खाना पनि निशुल्क नै ख्वाउँछौं, अन्य सबै बिरामी र कुरुवाका लागि समेत हाम्रो क्यान्टीन खुल्ला छ, यो बेला सकेको गर्छौं,’ संचालक पण्डितले भन्नुभयो । उहाँले विपतको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क खाना खुवाएको जानकारी दिनुभयो । क्यान्टिनले ड्युटीमा रहेका डाक्टर, नर्स तथा अन्य सबै कर्मचारी, बिरामी, बिरामीका कुरुवा तथा अस्पतालमा बेसाहारा बनेकाहरुलाई २४ घण्टा सेवा दिने संचालक उपेन्द्र पण्डितले बताउनुभयो । यो अवधिमा क्यान्टीनमा आउनेहरुले सामाजिक दूरी कायम गरेरै बस्नु पर्ने छ । क्यान्टीनमा खाना अर्डर गर्न र पैसा तिर्न समेत दूरी निर्धारण गरिएको छ ।