भरतपुर, १८ असोज ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ चितवन ३ बाट चुनाव नलड्ने हल्लाले क्षेत्रका मतदाता निराश देखिएका छन् । पाँच दलिय गठबन्धनका तर्फबाट पहिलो दाबेदार रहेता पनि काङ्ग्रेस भित्रको शेखर समुहको असन्तुष्टि, ‘भुइकटहर’ समुहको असहयोग, रबि लामिछानेको सकृयता लगाएतका कारण प्रचण्ड सोच्न बाध्य भएको स्रोतले बताएको छ ।
चितवन क्षेत्र नम्बर ३ बाट एमालेले चर्चाका लागि जिल्ला अध्यक्ष राम प्रसाद न्यौपानेको नाम अघि सारे पनि अन्तत: राप्रपाका बिक्रम पाण्डेलाइ सघाउने तयारी रहेको बुझिन्छ । त्यसो त प्रचण्ड नै उठ्ने अवस्थामा एमालेले बिक्रम पाण्डेलाइ सघाए पनि ‘भोट प्याट्रन’ हेर्दा आधा आधि एमाले भोट प्रचण्डले पाउने देखिन्छ । एमाले र माओवादी एकीकरण पश्चात नेकपा बनेर प्रचण्ड समेत पार्टी अध्यक्ष बनेपछि उहाँ प्रति कोर एमाले कार्यकर्ताको सेन्टिमेन्ट सकारात्मक बनेको र अहिले पार्टी बिभाजनकै अवस्थामा पनि प्रचण्ड प्रति आधा एमालेको भावना नकारत्मक नरहेको बाम बिश्लेसकहरुको बुझाइ छ । गठबन्धन भित्रको एक चौथाइ मत तितर बितर भएपनि सोझो सेटमा प्रचण्डले जित्ने देखिन्छ । अझ राप्रपा एमाले गठबन्धन भएमा त्यसले प्राकृतिक रुपमा भोट परिणाम नदिने कुरा स्थानिय निर्वाचनकै क्रममा प्रस्ट देखिएको थियो । स्थानिय निर्वाचनमा चितवनको भरतपुर र माडीमा राप्रपा एमाले गठबन्धन भएपनि भरतपुरमा भारी मतले पछाडि परेको थियो भने झिनो मतान्तरले माडीको मेयरमा जितेको थियो भने उपमेयरमा पराजय भोगेको थियो । राप्रपा एमालेप्रति इमान्दार देखिए पनि एमालेले राप्रपालाइ सजिलै भोट हालेको देखिएन ।
“प्रचण्डलाइ चितवन होइन, चितवनलाइ प्रचण्ड चाहिन्छ”, सोही क्षेत्रको भरतपुर २७ मेघौलीका स्थानिय युवा आत्मा राम पौडेलले भन्नुभयो – “प्रचण्डले चितवन छोड्नुपर्ने अवस्था आयो भने चितवनको समग्र बिकासका निम्ति दुर्भाग्य हुनेछ ।” रेनु दाहाल भरतपुरको मेयर हुनु र प्रचण्ड ३ नम्बर क्षेत्रको जनप्रतिनिधी हुनुले जिल्लाको बिकास मात्र होइन चितवनले देशब्यापी रुपमा चर्चा कमाएको पनि स्थानियको बुझाइ छ । भरतपुर महानगर र ३ नम्बर क्षेत्रमा अर्बौको बजेट भित्राएर धमाधम कामहरु भइरहेकोमा जनता खुसी भएपनि प्रचण्डले चितवन छोड्ने अबस्था आएर बिकासको गति सुस्ताउछ कि भन्नेमा धेरैले चिन्ता ब्यक्त गरेका छन् । प्रचण्डले चितवन ३ मै पर्ने शिवनगरमा स्थायी घर बनाउनु भएको छ । केही दिन अघि उहाँले गृह प्रवेश समेत गर्नुभएको छ ।
प्रचण्डले चितवन रोज्नु अघि सम्म जिल्लाको चर्चा र बिकास यो गतिमा कहिल्यै नभएको आम बुझाइ छ । सडक लगाएतका पुर्वाधारहरुको बिकास अभुतपुर्व रहेको स्थानियहरुले बताउछन् । “प्रचण्ड र रेनु दाहालका कारण चितवनले बिकासको मोडल देखाएको छ” भरतपुर २१ पार्बतीपुरका स्थानिय युवा प्रकास लामिछानेले भने – “प्रचण्ड यहाँबाट नलडे हामी अभिभावक बिहिन हुन्छौ ।” आसन्न संघीय निर्वाचनमा पाँच दलिय गठबन्धनका तर्फबाट प्रचण्ड चितवन ३ छाडेर गोरखा २ बाट निर्वाचन लड्ने हल्ला चलिरहेको छ । उहाँले चितवन ३ छाडेर गठबन्धका तर्फबाट काङ्ग्रेस उम्मेदवारलाई अघि सारिएमा के हुन्छ यसै भन्न सकिने अवस्था छैन ।





