भरतपुर, चैत्र २१ ।
विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसले अहिले विश्व हायल कायल छ । सिंगो पृथ्वीलाई एकैसाथ स्तब्ध पार्ने यस्तो महाविपत्ति न त पहिले कहिल्यै भएको थियो न त सजिलै फेरी हुनेवाला छ । अमेरिका, बेलायत, इटली, फ्रान्स, जर्मनी जस्ता महाशक्ति राष्ट्रहरु अहिले यही कोभिड १९ संग जुधिरहेका छन् भने उद्गम राष्ट्र चिनले यसलाई नियन्त्रणमा लिन सफल भइसकेको छ । केही पश्चिमा राष्ट्रहरुले यसलाई समयमै ‘सिरियसली’ नलिँदा प्रभाव गुणात्मक रुपमा बढ्न गएको देखन्छ ।
केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई आधार मान्दा अहिले विश्वको आधा भन्दा बढी जनसंख्या यसबाट सुरक्षित रहने उपाय अपनाईरहेको छ । हिजो बिहिबार थप एक जनामा देखिएसंगै नेपालमा संक्रमितको संख्या ६ पुगेको छ । जुन विश्वब्यापी तथ्यांकको तुलनामा कम र राम्रो मानिएको छ । त्यसो त कोरोना भाईरस जति चर्चामा छ यसले गरेको मानविय क्षति भने उती उदेक लाग्दो छैन ।
विश्वको अवस्थालाई हेर्दाे प्रति सय संक्रमितमा ५ जनाको मृत्यु भएको देखिन्छ भने नेपालमा संक्रमित ६ मध्ये सबै सकुशल भन् । यस्तै, विश्वब्यापी रुपमा प्रति सय संक्रमितमा २१ जना मानिस निको भएर घर फर्केका छन् भने नेपाली परिवेशमा यो केही न्युन छ । कोरोना संक्रमित र निको हुनेको तथ्यांक हेर्दा ६ जना मध्ये १ अर्थात गणितिय अनुपात निकाल्दा प्रति सय संक्रमितमा १७ जनालाई सञ्चो भएको देखिन्छ । त्यसो त नेपालमा परिक्षण नै धेरै हुन सकेको छैन । हाल सम्म जम्मा १ हजार १ सय ८४ जनाको मात्रै परिक्षण गरिएको अवस्थामा कोरोनाको प्रभाव कम भन्न नमिल्ने कतिपयको तर्क छ । जति धेरै परीक्षण गरियो उती धेरै संक्रमित भेटिन सक्ने सम्भावना भने हुन्छ ।
कोरोनाकै कारण मृत्यु भएका देशहरुको आँकडा हेर्दा ईटाली, स्पेन, अमेरिका, फ्रान्स र चिन क्रमश पहिलोदेखि पाँचौ नम्बरमा परेका छन् ।






