चितवन, ३१ असाेज : पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले राजनीति वा विकास र समृद्धि रोज्ने बेला आएको बताएका छन् । भरतपुर–१५ फुलबारीमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघले गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै उनले फोस्रा चुनावी नारा भन्दा विश्वासिलो व्यक्तिलाई चुन्न आग्रह गरे ।
पाण्डे चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार हुन् । “राजनीति चाहिने भए राजनीतिक खेलाडीलाई भोट दिए हुन्छ”, उनले भने, “विकास, समृद्धि, राष्ट्रवादी सोच भएको चाहिएमा राप्रपालाई भोट दिनुस् ।” उनले यसपालीको निर्वाचनलाई विगतका ४ वटा निर्वाचनको समीक्षा गर्दै सहि नेतृत्व छनौट गर्न आग्रह गरे । “आफ्नो मान्छे, आफ्नो पार्टी भनेर भोट नदिनुस्”, उनले भने, “चुनावमा मात्रै झुल्किने नेता होइन, हार्दा–जित्दा सधैँ सँगै हुनेलाई सांसद बनाउनुस् ।”
उनले यसपालीको निर्वाचन संवेदनशील रहेकाले राष्ट्रलाई विदेशीको कब्जाबाट जोगाउन राष्ट्रवादी उम्मेदवारहरुलाई जिताउनुपर्ने बताए । “जनताको मन जित्ने काम गर्नेहरु लुकेर घेराउमा हिँड्नैपर्दैन”, उनले भने, “चुनाव जितेपछि भागिहाल्ने, हारे पछि पनि कहिल्यै नआउनेहरुलाई नरोजौँ ।”
२०५६ सालदेखि लगातार चितवनबाट एकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदै आएका उनी यसपाली ५ औँ पटक उम्मेदवार बनेका हुन् । उनले देशहित विपरितका कामहरु हुन नदिन राप्रपा पहरेदारका रुपमा उभिने भएकाले यसपाली राप्रपाको पक्षमा मतदान गर्न आग्रह गरे । देश अभिभावकविहिन बनेकाले राष्ट्रवादीहरुलाई जिताउनुपर्नेमा पाण्डेले जोड दिए ।





