रेडियो त्रिवेणीद्वारा प्रेस युनियन चितवनको पत्रकार राहत कोषमा १५ हजार रुपैयाँ सहयोग

हेम राज रिमाल  चितवन, ९ बैशाख । चितवनको भरतपुरमा अवस्थित रेडियो त्रिवेणी १००.६ मेगाहर्जले नेपाल प्रेस युनियन चितवनको पत्रकार राहत कोषमा १५ हजार रुपैयाँ सहयोग गरेको छ । रेडियो त्रिवेणीका प्रबन्ध निर्देशक सुदिप सिंह अधिकारीले आज मंगलबार प्रेस युनियनका जिल्ला अध्यक्ष अनिल ढकाललाई सो रकम बराबरको बैंक चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रबन्ध निर्देशक अधिकारीले कोरोना महामारीसंगैको लक डाउनका कारण प्रत्यक्ष मारमा परेका पत्रकार तथा संचारकर्मीलाई लक्षित गरी राहत कोष स्थापना गरेकोमा युनियनप्रति धन्यवाद ब्यक्त गर्नुभयो । “कोरोना महामारीको रिपोर्टिङमा अग्रपंक्तिमा रहेर क्रियाशिल पत्रकारहरुका लागि युनियनले दुःखको घडीमा सारथी बन्ने काम गरेको छ ।” उहाँले भन्नुभयो – “घर टाढा भएर यहाँ डेरा गरी बस्ने संचारकर्मी तथा पत्रकारहरुका लागि राहत योजना महत्वपुर्ण सावित हुनेछ ।”

सो अवसरमा युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले रेडियो त्रिवेणीबाट विगत देखि नै प्राप्त साथ र सहयोगका लागि कृतज्ञता ब्यक्त गर्नुभयो । उहाँका अनुसार कोरोना महामारीलाई लक्षित गरी यूनियनले आन्तरिक कोषबाट रकम व्यवस्थापन गरी राहत कोषमा तिन लाख रुपैयाँ जम्मा गरेको छ । सोमबार दिउँसो बसेको ‘अनलाइन बैठक’ ले पत्रकार राहत कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

यसका लागि यूनियन चितवनका अध्यक्ष अनिल ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलमा निवर्तमान अध्यक्ष नारायण अधिकारी र केन्द्रिय सदस्य तथा पूर्वअध्यक्ष बसन्त पराजुली रहेका छन् । कोरोना महामारीका बेला समस्यामा परेका पत्रकारलाई सहयोग गर्न राहत कोष बनाइएको ढकालले स्पष्ट पार्नुभयो । समस्यमा परेका पत्रकारले यूनियन चितवनका पदाधिकारीलाई खबर गराउन सक्नेछन् । प्रेस यूनियन चितवनले राहत कोषमा थप आर्थिक सहयोग गर्न दाताहरुसँग अपिल समेत गरेको छ ।

यसअघि रेडियो त्रिवेणीले कोरोना महामारीमा जोखिम मोलेर बिरामीको सेवामा खटिने चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई लक्षित गर्दै भरतपुर अस्पताललाई दुई चरणमा गरि ६० थान पिपिई सहयोग गरेको थियो ।

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा