कोटेश्‍वरमा ओली-नेपाल समूहको वार्ता सकियो, सहमति जुटेको दाबी 

काठमाडौं, १५ बैशाख :

कोटेश्‍वरस्थित वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा नेपाल कम्युनिष्ट पार्टीका दुई समूहबीचको वार्ता सकिएको छ ।

तीन घण्टा भन्दा बढी चलेको उक्त वार्तामा दुई समूहबीच केही बुँदामा सहमति भएको दाबी स्रोतले गरेको छ।  यो वार्तासँगै भोलि (मंगलबार) नेकपा सचिवालय बैठक डाकिएको छ। वार्तामा स्थायी समिति बस्‍नेबारे केही खुलाइएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित दुई अध्यादेश ल्याएपछि नेकपाका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गरेका थिए।  दिउँसो ३ बजेदेखि नेकपाको केपी शर्मा ओली समूह र वरिष्ठ नेता नेपाल समूहबीच भएको वार्तामा चार बुँदे सहमति भएको बताइएको छ। सहमति अनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सच्चिएर जाने, केही मुख्यमन्त्री र मन्त्री हेरफेर र एकता महाधिवेशनको रणनीति तय गरिएको छ।

वार्तामा सहभागी एक नेताले भने, ‘सहमति जुटेको छ, सरकारलाई सघाएर अघि बढ्ने वातावरण बनाउने भन्‍ने भएको छ। अन्य कुरामा पनि सहमति भएको छ।’ वार्तामा नेपाल समूहका नेताहरुले ओली समूहले एकलौटी गरेर पेलेको भन्दै दुखेसो गरेका थिए। त्यसपछि ओलीपक्षका वार्ता टोलीका सदस्यहरुले अबका दिनमा यसलाई सुधारेर अघि बढ्ने बताएका थिए।

उक्त वार्तामा ओली समूहबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु पौडेल सहभागी थिए। अर्कातिर नेपाल समूहबाट सुरेन्द्र पाण्डे, रघुजी पन्त र भीम रावलसहितका नेता वार्तामा जुटेका थिए।  प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीसँग सल्लाह नै नगरी दुई अध्यादेश जारी गरेपछि उत्पन्‍न जटिलताले नेकपामा तीव्र विवाद पैदा भएको थियो।

त्यसपछि दुई समूहका नेताहरु वार्तामा बसेका थिए। सोमबारै खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ।

स्रोतका अनुसार प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएपछि उपाध्यक्ष वामदेव गौतमसँग सम्वाद भएको छ। प्रचण्ड निवास खुमलटारमा तीन नेताबीच स्थायी समिति बैठक बोलाउने विषयमा छलफल भएको बताइएको छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा