कोरोनाबाट २ लाख २८ हजार भन्दा बढीको मृत्यु, अमेरिकामा मात्र ६१ हजार बढीको ज्यान गयो

काठमाडौं, १८ वैशाख :

विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर रुपमा बढीरहेको छ ।

महामारीको रुप लिएको यो भाइरसका कारण पछिल्लो २४ घण्टामा मात्र विश्वभर ८१ हजार ३ सय संक्रमित थपिँदा साढे ६ हजार व्यक्तिले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २८ हजार संक्रमित थपिँदा २ हजार ३६९ जनाको मृत्यु भएको छ । केही दिन रोकिएको कोरोना संक्रमण त्यहाँ फेरि तीव्र गतिमा फैलिन थालेको छ ।

अमेरिकामा हालसम्म १० लाख ६३ हजार संक्रमितमध्ये ६१ हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा २ लाख ३६ हजार ८ सय व्यक्ति संक्रमित पुग्दा २४ हजार २ सयको मृत्यु भएको छ । इटालीमा २ लाख ३ हजार संक्रमितमध्ये २७ हजार ६ सयले ज्यान गुमाएका छन् ।

फ्रान्समा संक्रमितको संख्या १ लाख ६६ हजार ४ सय पुगेको छ । जसमध्ये २४ हजार व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा संक्रमितको संख्या १ लाख ६५ नाघ्दा २६ हजारले ज्यान गुमाएका छन् । जर्मनीमा १ लाख ६१ हजार संक्रमितमध्ये ६ हजार ४ सय व्यक्तिको मृत्यु भएको छ ।

टर्कीमा संक्रमितको संख्या १ लाख १७ हजार ५ सय संक्रमित पुगेको छ । जसमध्ये ३ हजार व्यक्तिले ज्यान गुमाएका छन् । बाँकी देशमा भने संक्रमितको संख्या १ लाख भन्दा कम छ । विश्वभर संक्रमितको संख्या ३२ लाख १७ हजार नाघेको छ । जसमध्ये ९ लाख ९९ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् भने २ लाख २८ हजारले ज्यान गुमाएका छन् । (एजेन्सी)

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन