काठमाडौँ, १९ वैशाख :
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) प्रमुख नेताहरुसँग भेटघाट तीव्र पारेकी छन्। उनले शुक्रबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेकी छन् ।
पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र नेपालसँग उनीहरुको निवास क्रमशः खुमलटार र कोटेश्वर पुगी भेट गरेकी हुन् । भेटमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले गर्ने सहयोगको विषयमा छलफल भएको बताइएको छ। ‘अध्यक्षले चीन सरकारले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो। आगामी दिनमा समेत चीन सरकार र पार्टीबाट सहयोग जारी रहने अपेक्षा लिएको बताउनु भएको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा भने, ‘राजदूतले नेपाललाई आवश्यक पर्ने सहयोग जारी रहने जानकारी गराउनु भएको छ।’
प्रचण्डसँग भेटपछि राजदूत होउ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गर्न नेपाल निवास कोटेश्वर पुगेकी थिइन्। सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्ष चर्किएको समयमा छिमेकी राजदूतको भेटघाटलाई चासोका साथ हेरिएको छ। चिनियाँ राजदूत होउले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने भेटघाट नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चिनियाँ राजदूतसँग यो बीचमा भेट भएकोबारे आफूलाई जानकारी नभएको बताए। गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच टेलिफोन वार्ता भएको थियो ।