परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलङ्का प्रस्थान गर्नुहुँदै

काठमाण्डौं, १७ माघ : 

परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँको श्रीलङ्काको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । परराष्ट्रमन्त्री भएपछि यो उहाँको पहिलो विदेश भ्रमण हो ।

उहाँ श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरका कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेशमन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गर्नुभएको छ ।

भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्नुहुनेछ । उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्रीलगायतसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुहुने बताइएको छ ।

मन्त्री डा पौड्याल बिहीबार त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । शुक्रबार विभिन्न ‘साइडलाइन मिटिङ’ हरु हुने र शनिबार मुख्य समारोहमा सहभागी हुनुहुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ । भ्रमण सम्पन्न गरी उहाँ आइतबार नेपाल फर्कनुहुने कार्यक्रम छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी