समान पारिश्रमिक सम्बन्धी मुद्दा पुनरावेदनमा लैजाने अमेरिकी महिला फुटबल टोलीको तयारी

काठमाडौं, २३ बैशाख :

अमेरिकाको महिला फुटबल टोलीका खेलाडीले पुरुष टोली सरह समान पारिश्रमिक पाउनु पर्ने सम्बन्धी मुद्दा पुनरावेदनमा लैजाने बताएका छन् ।

तल्लो अदालतले सो मुद्दा खारेज गरेको थियो । पुरुष खेलाडीको तुलनामा कम पारिश्रमिक पाएको भन्ने महिला टिमका खेलाडीको दाबी न्यायाधीशले अस्वीकार गरेका हुन् । गएको वर्ष महिला टिमका २८ खेलाडीले अमेरिकी सकर फेडेरेसन (युएसएसएफ) विरुद्ध उजुरी दिएका थिए । तर विश्वकप विजेता मेगन रापिनोइ र एलेक्स मोर्गनले महिला टिमले सो मुद्दा पुनरावेदनमा लैजाने बताएका हुन् ।

समान पारिश्रमिक दिनु पर्ने कानून अन्तर्गत आफूहरुले ६६ मिलियन डलर क्षतिपूर्ति पाउनु पर्ने माग उनीहरुले गरेका थिए। आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने पक्का जस्तै रहेका जो बाइडेनले महिला फुटबल टोलीसँग समान पारिश्रमिकका लागि गरेको लडाईँ बिचमै नछाड्न आग्रह गरेका थिए ।

संघीय अदालतका न्यायाधीश ग्यारी क्लाउस्नरले यात्राको क्रममा महिला खेलाडीहरुलाई पुरुष टिमको तुलनामा फरक व्यवहार भएको कुरा स्वीकार गरेका थिए । त्यसको सुनुवाई लस एन्जलसमा आउँदो जुन १६ हुने तय भएको छ ।

गएको वर्षको विश्वकप फुटबलमा गोल्डेन बुट र गोल्डेन बल जितेकी अमेकिरी टिमकी स्ट्राइकर मेगन रापिनोइले समान पारिश्रमिकका लागि गर्दै आएको युद्ध कुनै पनि हालतमा नछोड्ने बताएकी छन् । यस्तै अर्की स्ट्राइकर एलेक्स मोर्गनले अदालतको फैसलाले केही निराश बनाए पनि यसले आफूहरुको युद्धलाई रोक्न भने नसक्ने बताएकी छन् ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा