काठमाडौं, २३ बैशाख :
मुलुकमा जारी लकडाउनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दै छ ।
अपरान्ह ४ बजे बस्ने बैठकमा कृषि, उत्पादनमुलक उद्योग, अत्यावश्यक वस्तुको ढुवानी तथा बिक्रि र पूर्वाधार निर्माणमा रोक नलाग्ने गरी लकडाउनको नयाँ ढाँचाका विषयमा छलफल हुने बताइएको छ । समितिका संयोजक समेत रहेका उपप्रधान एवम रक्षामन्त्री ईश्वर पोखरेलले हिजो ९ वटा मन्त्रालय र चार वटै सुरक्षा निकायका अधिकारीसँग लकडाउन प्रभावकारी बनाउने विषयमा अनौपचारिक छलफल गर्नुभएको थियो ।
सो छलफलमा मूख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा गठित समितिले आगामी शुक्रबारबाट लकडाउनको स्वरुपमा फेरवदल हुने गरी प्रस्ताव पेश गरेको थियो । कोभिड–१९ संक्रमण नदेखिएका जिल्लामा लकडाउन खुकुलो हुने गरी तयार पारिएको खाकालाई आजको बैठकले अनुमोदन गर्ने बताइएको छ ।
कृषिवाली लगाउने समय सुरु भएकाले पनि लकडाउनको स्वरुप परिवर्तन गर्न लागिएको हो । विद्यालय, चलचित्र घर, भीडभाड हुने बजार, सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालनमा भने अहिलको व्यवस्थालाई नै निरन्तरता दिने सरकारको तयारी छ ।