संक्रमण बढ्दो क्रममा रहेकाले आगामी दिनहरु थप चुनौतीपूर्ण : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं, ६ जेठ :
कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले नेपालका लागि आउँदा दिन थप चुनौतीपूर्ण हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७३ औँ विश्व स्वास्थ्य सम्मेलनलाई भिडियो मार्फत सम्बोधन गर्दै उनले कोरोना भाइरसविरुद्धको अभियानमा सबै संयन्त्र परिचालन गरी काम गरिरहेको बताए । तर पनि साधन स्रोतको कमी रहेको र संक्रमण बढ्दो क्रममा रहँदा चासो र चिन्ता थपिएको उनले बताए ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि डब्लुएचओले गरेको प्रयासको प्रशंसा गरेका मन्त्री ढकालले नेपालसहितका देशहरुका लागि अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक रहेको बताए ।

कोरोना भाइरसले कुनै पनि जात, रंग, पेशा वा वर्गका भनेर नछोड्ने भन्दै उनले विश्वव्यापी एकीकृत प्रयासमा जोड दिए । मन्त्री ढकालले सम्बोधनको क्रममा कोरोना भाइरसविरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर खटिएका सबैलाई धन्यबाद पनि दिएका थिए ।

यस्तो छ मन्त्री ढकालको सम्बोधन

सभा-अध्यक्ष महोदय तथा उपस्थित सम्पुर्ण विशिष्ठ महानुभावहरू, हार्दिक नमस्कार  

कोभिड को विश्वव्यापी महामारीका सन्दर्भमा हामी निकै कठिन घडीबाट गुज्रीरहेका छौं, जहाँ धेरै जोखिम र अनिश्चितताहरू छन् ।
म लगायत मेरो देशका तर्फबाट विश्वभरी महामारी विरूद्ध अग्रपंक्तिमा रही निरन्तर खटिरहेका सम्पुर्ण स्वास्थ्यकर्मीहरू प्रति उच्च सम्मानका साथ हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

कोभिड लगायत यस्ता संक्रामक रोगहरूको कुनै सीमाना हुँदैन र यसले कुनै रंग, समुह र वर्ग बीच विभेद गर्दैन । त्यसैले सबैको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नु हामी सबैको साझा दायित्व हो ।

नेपालले महामारीको सुरूवात देखि नै उच्च राजनैतिक प्रतिबद्धताका साथ बहुपक्षीय संयन्त्र मार्फत यस विपदको प्रतिकार्य गर्दै आएको छ । नेपालमा संघीय प्रणाली संस्थागत हुदै गैरहेको अवस्थामा कोभिडको नियन्त्रण र रोकथाममा तीनै तहबाट गरिएका संयुक्त प्रयासहरू सराहनीय छन्।

कोभिड बाट हाल सम्म नेपालमा दुइ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या केही दिन यता बढ्दो क्रममा रहेकोछ । आउदा दिनहरू हाम्रा लागि थप चुनौतीपुर्ण हुन सक्दछन् ।

स्वास्थ्य विकासको एक प्रमुख आधार हो । निःसन्देह नै स्वास्थ्यमा गरिने लगानीको महत्व र आवश्यकतालाई यस महामारीले थप पुष्टि गरेको छ । यस महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीहरूको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको छ । त्यसैले हाम्रा समग्र प्रयासहरूलाई सघन बनाउन सबैको सहयोगको अपेक्षा राखेको छु ।

कोभिड नियन्त्रणमा विश्व स्वास्थ्य संगठन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूको भूमिका सराहनीय छ। विश्व मानव समुदायको स्वास्थ्य रक्षा गर्न यसले खेलेको ऐतिहासिक भूमिकाको पुनः पुष्टी भएको छ । सर्वव्यापी स्वास्थ्य सुरक्षाको लागि सदस्य राष्ट्रहरूले थप एकताबद्ध भई प्रयास गर्नु पर्ने आजको आवश्यकता भएको विषय पनि उठाउन चाहन्छु ।

कोरोना विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउदै महामारीका चुनौतीहरूलाई संयुक्तरूपमा सामना गर्न विश्व समुदाय समक्ष म अनुरोध गर्न चाहन्छु।

अन्तमा, विभिन्न प्रतिकुलताका वावजुद पनि उपलब्ध प्रविधिको प्रयोग गरी संचालित यस विश्व स्वास्थ्य महासभाको पूर्ण सफलताको कामना गर्दछु।

धन्यवाद ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन