वीरगञ्ज, १२ जेठ :
कोभिड १९ संक्रमण निको भएर वीरगञ्जस्थित नारायणी अस्पतालबाट एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो दुईवटा स्वाब परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदन कुमार उपाध्यायले बताउनुभयो ।
डिस्चार्ज हुनेमा ४ महिने शिशु देखि लिएर ६२ वर्षकी वृद्धा छन् । डिस्चार्ज हुनेमा ७ महिला र ११ पुरुष रहेको अस्प्तालका फिजिसियन डा। उदय नारायण सिंहले जानकारी दिनुभयो । उनीहरु वीरगन्ज महानगरपालिका वडा ३ का वासिन्दा हुन् ।
आइतबार राति करिब ११ बजे उनीहरुलाई डिस्चार्ज गरिएको थियो । गत वैशाख २१ मा उक्त परिवारका ३७ वर्षीय पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएपछि सम्पूर्ण परिवारको स्वाब संकलन गरिएको थियो । ती पुरुष वडा ३ को राहत वितरण समितिमा नेकपाबाट प्रतिनिधी समेत थिए ।
गत वैशाख २४ मा ती पुरुषको आमा, बुवा, दाई, भाउजु, छोरा, भतिजा सहित परिवारका १७ जनाको स्वाब परीक्षण हुँदा कोभिड १९ पोजेटिभ देखिएको थियो । परिवारका सबैलाई नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो । चिकित्सकका अनुसार उनीहरु कसैमा पनि कोभिड १९ को लक्षण देखिएको थिएन् ।
शनिबार मात्र नारायणी अस्पतालको आइसोलेसन वार्डबाट पर्सा, वारा र रौतहटका ९ जना कोभिड १९ का विरामी निको भएर डिस्चार्ज भएका थिए । नारायणी अस्पतालको आइसोलेसन र अस्थाई कोरोना अस्पताल गरि वीरगन्जमा अझै ७२ जना कोभिड १९ संक्रमितको उपचार भइरहेको छ । पर्सा निवासी एक संक्रमितको वाराको कलैयामा उपचार भइरहेको छ ।