काठमाडौं,२० जेठ :
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या अहिलेसम्मकै बढी रहेको छ । मंगलबारमात्रै थप२८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा कोरोना पुष्टि भएको बताए । याेसँगै नेपालमा संक्रमितकाे संख्या २ हजार ९९ पुगेकाे छ। प्रदेश १ मा १६८, पदेश २ मा ८१६, बागमतीमा ५४, गण्डकीमा ३७, प्रदेश ५ मा ६९९, कर्णाली प्रदेशमा २६२, सुदूरपश्चिममा ७३ जनामा संक्रमण पुष्टि भएको हो। प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप ४५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या २६६ पुगेको छ ।
मंगलबार पर्वत जिल्लामा ५ जना संक्रमित भेटिएका छन् । योसँगै देशका ६१ वटा जिल्लामा संक्रमण पुगेको छ। स्वास्थ्य मन्त्रालयले दिनमा ३ हजारजनाको पिसिआर परीक्षण भइरहेको बताउँदै अब ठूला अटोमेटेड मेसिन ल्याएर व्यापकमात्रामा परीक्षण बढाउने जनाएको छ । धुलिखेलमा गरिएको परीक्षणमा ३८ जना संक्रमित भेटिएका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा १० जना संक्रमित भेटिएका छन् । जसमा स्याङ्जा चापकोटका ५ जना र पर्वतको महाशिलाका ५ जना रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी रामगढका एकजनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा २० जनाको नमुना पोजेटिभ आएको छ। जसमा बर्दिया गुलरिया ३ जना रहेकाछन् ।
त्यसैगरी बाँकेको खजुरा, नरैनापुरा र रप्ती सोनारीका १७ जना रहेका छन् । सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ आएको छ । जसमा वीरेन्द्रनगर, लेकबेसी, भेरीगंगा र पञ्चपुरीका २७ जना रहेका छन् । सुर्खेतमै गरिएको परीक्षणमा दैलखका ९ जनाको पोजेटिभ आएको छ ।
त्यसैगरी सल्यानको बनगाढ कुपिन्डे र दार्माका १७ जनामा कोरोना देखिएको छ । त्यसैगरी अछाम चौरपाटी र मंगलसेनका १० जनामा कोरोना देखिएको छ । हेटौंडाको परीक्षणमा बारा देवतालका एकजनामा कोरोना पुष्टि भएको छ । दाङमा गरिएको परीक्षणमा १७ जना संक्रमित भेटिएका छन्। सेती अस्पतालमा १८ जनामा संक्रमण पुष्टि भएको छ ।सेती अस्पतालमा गरिएको परीक्षणमा कञ्चपुरका ८ जना र कैलालीको टीकापुर नगरपालिका तथा गौरीगंगा गाउँपालिका १० जना रहेका छन् । राष्ट्रिय जनस्वास्थ्यमा ११८ जनामा संक्रमण देखिएको छ । जसमा धनुषाका १५ जना रहेका छन् ।
रौतहटको दुर्गाभगवती, राजपुर ३६ जनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी सिराहाको सूर्यनारायण,सत्यानाराण क्याम्पसको क्वारेन्टाइनमा रहेका १७ जनामा कोरोना पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणकी ३० वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । धादिङकी एकजना महिला पनि संक्रमित भएकी छन्। त्यस्तै कपिलवस्तुका १७ जनामा संक्रमण देखिएको छ। काठमाडौं मेडिकल कलेजमा चार जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। उनीहरु २४ देखि ३२ का तीन महिला र एकजना पुरुष रहेका छन् ।