फोहरबाट मल बनाउँदै राप्ती नगरपालिका

चितवन, २४ जेठ :

पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकामा फोहर सङ्कलन गरेर मल उत्पादन गरिने भएको छ । मल उत्पादनका लागि आवश्यक संरचना बनिसकेको छ । लकडाउन खुलेसँगै फोहर सङ्कलन थालिनेछ । नगरपालिका प्रमुख प्रभा बरालले राप्ती नगरपालिका–२ मा स्थानीय शिवशक्ति सामुदायिक वनसँग सहकार्य गरेर काम शुरु गरेको जानकारी दिनुभयो ।

वाग्मती प्रदेश र नगरपालिकाको करिब रु एक करोड लगानीमा जापानिज प्रविधिबाट रिकिसी नामक संस्थाको प्राविधिक सहयोगमा मल उत्पादन गर्न लागिएको हो । सो क्षेत्रमा टहरा निर्माण गरी तीनै टहराभित्र फोहरबाट मल तयार गरिएको छ । सो स्थलमा संरचना निर्माण गरी परीक्षणका रुपमा मल उत्पादन थालिएको छ । वितरणका लागि बाल्टीसमेत खरिद गरिसकिएको छ ।

फोहर सङ्कलनका लागि ट्र्याक्टर खरिद गर्ने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । हरेक घरमा तीनवटा बाल्टी वितरण गरिनेछ । कुहिने, नकुहिने र बेच्न मिल्ने फोहर छुट्याएर मल उत्पादन गरिनेछ । मल नहुने फोहर बिक्री गरिनेछ । मल उत्पादनका लागि २५ जना कर्मचारीले तालिम लिइसकेको बरालको भनाइ छ । त्यहाँबाट उत्पादित प्राङ्गारिक मललाई कृषकलाई अनुदानका रुपमा वितरण गरिने उहाँले जानकारी दिनुभयो । नगरपालिकाको शहरी क्षेत्रमा धेरै फोहर जम्मा हुने गर्छ । पछिल्लो समय बनेको नगरपालिका भएकाले शुरुदेखि नै फोहर व्यवस्थित गर्नका लागि मल उत्पादन गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।(रासस)

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो