सुन तस्करी प्रकरणः तीन कार्गो कम्पनी सञ्चालक पक्राउ

काठमाडौं, ५ साउन : 

राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ ।

जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताउनुभयो ।

बिहिबार साँझ पक्राउ गरिएका तीनै कार्गो तथा कुरियर सेवा दिने कम्पनीका सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन । उहाँका अनुसार पक्राउ परेका तीनसहित अहिलेसम्म उक्त सुन प्रकरणमा १० जना पक्राउ परेका छन् ।

त्यसमध्ये छ जनालाई उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । बिहिबार दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने आज म्याद थप गरिने जनाइएको छ ।

बिहिबार दिउँसो पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी