मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहँदा नेपालमा कम वर्षा

काठमाडौं, ७ साउन :

मनसुनको मध्य समयमै न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहँदा नेपालमा वर्षा कम भइरहेको छ ।

न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहँदा नेपालभन्दा केही टाढा पर्ने भएकोले यहाँ वर्षा कम भइरहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

अहिले नेपालमा मनसुनको आंशिक प्रभाव मात्र परेको उहाँले बताउनुभयो ।

मनसुनको आंशिक प्रभाव मात्र रहेकाले विशेष गरी नेपालको तराई क्षेत्रमा उल्लेख्य वर्षा नभएको उहाँको भनाइ छ ।

मनसुनको न्यूनचापीय रेखा दक्षिणतर्फ सरेकोले भारत र बंगलादेशमा भने वर्षा बढी भइरहेको छ ।

अहिलेको अवस्थालाई मनसुन ब्रेकको अवस्था नै भन्न नमिले पनि पानी कम पर्ने मौसमविद् लामिछानेले बताउनुभयो ।

आउँदो तीन दिन सम्म नै न्यूनचापीय रेखा उत्तरतिर सर्ने सम्भावना कम रहेकोले यो अवस्था लम्बिन सक्ने उहाँले बताउनुभयो ।

मौसमविद्हरुले मनसुनको शुरुमै साउनको पहिलो हप्ता पानी कम पर्न सक्ने पूर्वानुमान् गरेका थिए ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहेर बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने संभावना रहेको छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली भएर कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी