मनसुन सुरु हुन अझै १ हप्ता लाग्ने

काठमाडौं, २८ जेठ :

नेपालमा सामान्यतया जुन १० तारिख अर्थात् आजबाट मनसुन सुरु हुने भए पनि यस वर्ष ढिला हुने भएको छ ।

नेपालमा आउने मनसुनी प्रणाली बङ्गाल खाँडीको उत्तरी भूभागमा रहेको र त्यो नेपालको पूर्वी भूभागमा आइपुग्न झण्डै एक हप्ता लाग्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । बङ्गालको उत्तरी भूभागमा रहेको मनसुनी प्रणाली एक/दुई दिनमै पश्चिमी भूभागमा आउने र एक हप्ताभित्र दार्जिलिङ हुँदै नेपालको पूर्वी भूभागमा प्रवेश गर्ने उहाँले बताउनुभयो ।

यस वर्ष मनसुन सुरु हुँदा भने कमजोर प्रणाली आउने देखिएको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

बलियो प्रणाली नदेखिएकोले मनसुनको सुरुवातमा सामान्य पानी पर्ने र बिस्तारै मनसुन बलियो भएर न्यून चापीय रेखा नेपाल नजिक आएपछि औसत पानी पर्ने सम्भावना देखिएको मौसमविद् कँडेलले बताउनुभयो । यसैबीच अहिले कर्णाली प्रदेशको सुर्खेत लगायतको ठाउँमा ठूलो वर्षा भइरहेको छ ।

यस्तै प्रदेश पाँच, गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश २ को पर्सा र आसपासमा सामान्य पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति देशका धेरैजसो ठाउँमा बादल लाग्ने र प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश पाँचका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने मेघगर्जन तथा चट्याङ सहित ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन