फाइनल पुग्न नेपोली र इन्टर भिड्दै

 शनिबार, जेष्ठ ३१ :

कोप्पा इटालियाको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा आज राति चिरपरिचित प्रतिद्वन्द्वी नेपोली र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपोलीको मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सुरु हुनेछ । नेपोलीले सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई उसकै मैदानमा १–० ले पराजित गरेको थियो । पहिलो लेगमा नेपोलीका मिडफिल्डर फावियन रुइजले गोल गरेका थिए । सोही प्रदर्शनलाई झन्डै चार महिनापछि पनि नेपोली निरन्तरता दिने अभियानमा हुनेछ । कोपा इटालिया फेब्रुअरी यता भएको छैन ।

कोरोना महामारीका कारण इटलीमा मार्च ९ देखि फुटबलका गतिविधि स्थगित छन् । खेल बराबरीमा सकिए नेपोलीलाई यही नतिजा फाइनल प्रवेश गर्न पर्याप्त हुनेछ । तर, घरेलु मैदानमा इन्टरलाई पराजित गर्ने लक्ष्यमा नै नेपोली मैदानमा उत्रनेछ । नेपोलीका लागि ड्रिएस मर्टेन्स र फावियन नै टोलीका हतियार हुनेछन् । यता, इन्टर मिलान घरेलु टोली नेपोलीलाई पराजित गर्दै फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछ । इन्टर मिलानलाई फाइनल पुग्न जितले मात्रै पुग्दैन कम्तीमा पनि २ गोल गरेको जित आवश्यक छ ।

सिरी ‘ए’ मा उच्च प्रदर्शन गरिरहेको इन्टर मिलानका लागि लोउटारो मार्टिनेज, रोमेलु लुकाकु र भिक्टर मोसेसजस्ता स्टार खेलाडीहरुको साथ रहेको छ । यि खेलाडीले नतिजा उल्ट्याउन सक्ने क्षमता राख्दछ । शनिबार राति विजेता हुने टोलीले उपाधिका लागि युभेन्टसको सामना गर्नेछ । फाइनल १७ जुनमा हुने तय छ । युभेन्टसले एसी मिलानलाई अवे गोलमा पछि पार्दै फाइनलमा स्थान बनाउन सफल भएको थियो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिँदा दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएको थियो । शुक्रबार घरेलु मैदानमा रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा एसी मिलान खेलको १७औं मिनेटमा नै १० खेलाडीमा समेटिएको थियो । सिरी ‘ए’ २० जुनदेखि शुरु हुँदैछ । इटालियन फुटबल फेडेरेसन (एफआइजीसी) ले सिरी ‘ए’ सुरु गर्नुअघि कोप्पा इटालिया सकाउने योजना बनाएको थियो । (एजेन्सी)

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन