काठमाडौँ, ३ असार :
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा हालसम्मकै बढी ५८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन । यो संगै देशभर संक्रमितको संख्या ७१७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। देशभर भेटिएका संक्रमितहरुमा महिलाको संख्या ५ सय ३९ रहेको छ भने पुरुषको संख्या ६ हजार ६ सय ३८ रहेको छ ।
कुल संक्रमितमध्ये पुरुष ६ हजार ६३८ र महिला ५३९ जना रहेका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५४६ जना पुरुष र ४० जना महिला रहेका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । पछिल्लो पटक बाँके जिल्लाकी ४६ वर्षीया महिलाको कोरोनाबाट निधन भएको पुष्टि भएको हो । जेठ ३० गते नेपालगञ्ज अस्पतालमा भर्ना भएकी मिर्गौला पीडित उनको असार १ गते निधन भएको थियो ।
उनको असार २ गते कोरोना परीक्षण पोजेटिभ आएको हो । बुधबारसम्म कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या ७३ रहेको छ। बुधबार सबैभन्दा धेरै १८३ जना कोरोना संक्रमित महोत्तरीमा भेटिएका छन् । पछिल्लो २४ घण्टामा ९ जनामात्र अस्पतालबाट डिस्चार्ज भएका छन् । ७३ जिल्लामा फैलिसकेको कोरोनाबाट हालसम्म निको हुनेको संख्या एक हजार एक सय ६७ पुगेको छ । अहिलेसम्म एक लाख २५ हजार ७ सय ९८ वटा पीसीआर परीक्षण भएका छन् । एक लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेका छन् । ५ हजार ९ सय ९० जना आइसोलेसनमा रहेका छन् ।