काठमाडौँ, ६ असार :
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ हजार १ सय ९८ नमुना परीक्षण गर्दा ५३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन । यो संगै देशभर संक्रमितको संख्या ९ हजार पाँच सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ७६ जिल्लामा कोरोना फैलिइसकेको छ । ७७ जिल्लामध्ये रसुवामा भने अहिलेसम्म कोरोनाका बिरामी भेटिएका छैनन्। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ४६१ जना पुरुष र ७४ जना महिला रहेका छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५÷१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२/१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ । अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५/५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २/२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
आजसम्म जम्मा पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको प्रवक्ता डाक्टर गौतम बताए । हालसम्म मृत्यु हुनेको संख्या २३ रहेको छ । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भइ डिस्चार्ज हुनेको संख्या ३७० रहेको छ । हालसम्म देशभर २१४२ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।