काठमाडौं, २ असोज : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि श्रीलंकाका चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंका विराटनगर किंग्सबाट खेल्ने भएको छ । प्रभावशाली मानिने खेलाडी असलंका सन् २०२१ देखि त्यहाँको राष्ट्रिय टोलीमा छन् ।
असलंकाले सन् २०२१ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय तथा भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । सन् २०२२ मा अस्ट्रेलियाविरुद्ध आफ्नो पहिलो एकदिवसीय शतक प्रहार गरेपछि असलंका श्रीलंकाको मध्यक्रमका भरपर्दा तथा आक्रामक ब्याटरका रूपमा स्थापित भए । बलिङतर्फ पनि योगदान दिन सक्ने उपयोगी अलराउन्डरका रूपमा उनी परिचित छन् । टी–२० अन्तर्राष्ट्रियमा असलंकाले अहिलेसम्म ७७ खेलमा १,४६६ रन बनाएका छन् भने ७ विकेट पनि लिएका छन् । समग्र टी–२० क्रिकेटमा उनले १८५ खेलबाट ३,७१५ रन र ३७ विकेट आफ्नो नाममा गरेका छन् ।
विराटनगर किंग्सले असलंकाको आगमनले एनपीएलको तेस्रो संस्करणका लागि टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ । असलंकाले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) तथा यूएईको इन्टरनेसनल लिग टी–२० लगायतका प्रमुख फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसकेका छन् ।




