काठमाडौँ, १७ असार :
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज भएको पार्टी केन्द्रीय समितिको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको आज बिहान बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा असामयिक निधन भएकामा शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
उहाँको निधनबाट पार्टीले एक निष्ठावान् एवं कुशल महिला नेत्रीलाई गुमाएको र त्यसबाट पार्टीलाई अपूरणीय क्षति भएको बताउँदै सभापति देउवाले पार्टी र आफ्नातर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
यसैबीच, पार्टीले स्वर्गीय छन्त्यालप्रति सम्मान प्रकट गर्दै भोलि पार्टी केन्द्रीय कार्यालय बन्द गर्नाका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने तथा कुनै पनि औपचारिक कार्यक्रम नहुने बताएको छ ।
यसैबीच काँग्रेस संसदीय दलले प्रतिनिधिसभा सदस्य एवं पार्टीकी नेत्री ज्ञानकुमारी छन्त्यालको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको आज बिहान बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।
काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
विसं २०१४ मा बागलुङ साविकको खुङ्खानी–२ हाल तमानखोला–५ मा जन्मनुभएकी नेत्री छन्त्याल विसं २०७० को संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं–३ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।
उहाँ विसं २०७४ मा काँग्रेसबाट समानुपातिक समावेशी प्रणालीबाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य हुनुभएको हो । विसं २०४६ बाट काँग्रेसमा आवद्ध भई राजनीतिक यात्रा शुरु गर्नुभएकी स्व छन्त्यालले नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष, काँग्रेस जिल्ला कार्यसमिति सदस्य, सल्लाहकारलगायत पार्टीको विभिन्न तहमा रहेर पार्टी सङ्गठनमा महत्वपूर्ण योगदान निर्वाह गर्नुभएको संसदीय दलको कार्यालयले जनाएको छ ।
उहाँ काँग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुनुहुन्थ्यो । स्व छन्त्याल लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा हुनुहुन्थ्यो । उहाँले लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सदैव अग्रपङ्क्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
छन्त्याल राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्र र ग्रामीण विकासका कार्यमा सक्रिय रहँदै आउनुभएको थियो । उहाँको निधनले राष्ट्र र काँग्रेसलाई अपूरणीय क्षति पुगेको प्रमुख सचेतक खाँणले उल्लेख गर्नुभएको छ । (रासस)