काठमाडौं, २२ असार :
नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।
यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो । सो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिने छ ।
हिजोको बैठकमा प्रधानमन्त्री केपी ओली र सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे केन्द्रीय सदस्यहरुले कुरा उठाएका थिए । जवाफमा देउवाले प्रधानमन्त्रीसँग भेटेको बताउनुभएको थियो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य डा रामशरण महत, महेश आचार्य, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, अर्जुनप्रसाद जोशी, दीपक गिरी, नवीन्द्रराज जोशी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, श्यामकुमार घिमिरे र वीरबहादुर बलायरले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।