झुलाघाट नाका आजदेखि खुल्ला

काठमाडौं, २४ असार :
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबारदेखि तीन दिनका लागि खुल्ने भएको छ। दुवै देशका स्थानीय प्रशासनको समन्वयमा तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

सीमामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी भएको हो। बुधबार बिहान ९ बजेदेखि नाका खुला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

पेन्सन बुझ्ने १०० जनालाई दैनिक नाकाबाट भारत जान दिइने छ। त्यसका लागि ज्येष्ठताको आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था गरेको छ। यस्तै, नाकाबाट फर्कने नागरिकलाई सामान्य चेकजाँच गरेर स्वदेश फर्काइनेछ। सीमा नाकामा २०० जति नागरिक रहेको अनुमान गरिएको छ ।

सरकारले झुलाघाट नाकालाई स्वदेश भित्रिनका लागि आधिकारिक नाका तोके पनि भारत सहमत नहुँदा गत महिनादेखि खुल्न सकेको थिएन। लामो प्रयासपछि मात्र झुलाघाट नाका खोल्न भारत सहमत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

तीन महिनादेखि सीमा नाका बन्दा हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको थियो। भारतीय सेनाबाट सेवा निवृत भएका, अन्य भारतीय सरकारी कार्यालयबाट निवृत भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको थियो । भारतीय पेन्सनधारीको पेन्सनबापतको रकम भारतीय बैंकमै आउने गर्दछ। बैतडीका करिब दुई हजार नागरिकले भारतको झुलाघाटबाट पेन्सन बुझ्ने गरेका छन् ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन