रसुवा भन्सार कार्यालयले आजदेखि सामग्रीको जाँचपास गर्ने

रसुवा, २८ असार :
रसुवा भन्सार कार्यालयले आजदेखि सामग्रीको जाँचपास गर्ने भएको छ । व्यापारी तथा व्यापारीका प्रतिनिधि नाका पुगेका र कामदारको समस्याको समाधान भएसँगै भन्सारले जाँचपास प्रक्रिया अघि बढाएको हो ।

हिजो गाडीको डिसइन्फेक्सन र प्याकिङ सूची बनाउने काम भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पूण्यबिक्रम खड्काले बताउनुभयो ।

कोरोना भाइरसको त्रासका कारण बन्द भएर झण्डै पाँच महिनापछि सञ्चालनमा आएको रसुवागढी नाकाबाट गएको सोमबारदेखि नियमित सामग्री आईरहेको छ ।

सोमबारदेखि चीनले सामग्री आयात गर्नका लागि मात्रै एकतर्फी नाका खोलेको थियो । त्यस दिनदेखि चिनियाँ गाडीले दैनिक चारवटा गाडीमा सामग्री ल्याइरहेका छन् ।

जुत्ता, चप्पल, लत्ताकपडा लगायतका सामग्री आयात भएको छ । चिनियाँ एउटा गाडीले ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राखिन्छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । नेपालको तर्फबाट नाकामा अहिले १५ जना चालक र १६ जना कामदार राखिएको छ ।

दैनिक झण्डै तीन करोड राजस्व संकलन हुने रसुवागढीमा कोरोना सङ्क्रमणको जोखिमपछि अहिलेसम्म झण्डै पाँच अर्ब राजस्व घाटा भएको छ ।

आयात भएका सामग्री सहज ढुवानी गर्न स्याफ्रुबेंसी– टिमुरे खण्डको राजमार्ग सफा गर्ने काम भइरहेको रसुवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा