रामपुरमा विद्यार्थीबीच झडप

चितवन, ५ फागुन :

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आज विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य देवप्रसाद पाठक रहनुभएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पाठकको टाउकोमा चोट लागेको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आक्रमण गरेको अभियोगमा प्रहरीले रामपुरबाट तीनजना विद्यार्थीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार पक्राउ पर्नेमा प्रेम घर्ती, सबित सुवेदी र अभिषेख न्यौपाने रहेका छन् । तत्कालीन अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुबीच झडप भएको हो । पाठक तत्कालीन अनेरास्ववियुका जिल्ला अध्यक्ष हुनुहुन्छ । पक्राउ परेकाहरु अखिल क्रान्तिकारी निकट रहेको जनाइएको छ ।

रामपुरमा झडपपछि पार्टीले बेवास्ता गरेको भन्दै विद्यार्थीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कार्यालयमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ । यही फागुन १ गते जनयुद्ध दिवस मनाउने विषयमा दुई सङ्गठनबीच विवाद भएपछि पटकपटक झडप हुँदै आएको छ ।

विश्वविद्यालयको आवासमा बस्ने ती सङ्गठनका विद्यार्थी बाहिर बसेका छन् । विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान सङ्कायको आजको स्नातक मत्स्य विज्ञानको तेस्रो र सातौँ सेमेस्टरको परीक्षा गर्ने वा सार्ने भन्ने विषयमा विद्यार्थीबीच विवाद भएको थियो ।

विवादकै बीचमा विश्वविद्यालयले परीक्षा सञ्चालन गरेको छ । परीक्षामा ३३ विद्यार्थीमध्ये ३० जना सहभागी भएको सङ्कायका निमित्त डिन ईश्वरचन्द्र प्रकाश तिवारीले जानकारी दिनुभयो ।(रासस)

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन