काठमाडौँ, १ साउन :
सिर्जन अविरल-
पछिल्लो समय कविताको शक्ति बोकेर हिँडिरहेका छन् , केही कविहरू । धारिलो विचार सम्प्रेषण गरिएका छन् , अलग-अलग धारबाट । उठेका छन्, आफ्नै जमिनमा । बोलिरहेका छन्- कवितामा कलात्मक भाषा । विद्रोहको ज्वारभाटा र आक्रोशको अभिव्यक्ति त छ, स्वरमा । तर हिँडिरहेका छन् , कलाकै बाटोबाट । बलियादेखि सिकारु पाठकसम्म आकर्षित गर्न शक्ति चाहिन्छ कवितामा । कमजोर कविताले सदाका लागि विकर्षित हुन्छन् पाठकहरू । सजिलो छैन, नाराबाट जोगिएर कवितामा विद्रोहको भाषा बोल्नु । र, सजिलो छैन असहिष्णु समाज र शासकलाई कविताको प्रहारले ब्युँझाउनु । वर्तमान समयका तीन प्रतिनिधि कविहरु जो हरदम प्रहार गरिरहेका छन् – समाज, समय र शासकलाई । कवितामा सबै कुरा बोलेर पनि कलालाई जोगाएर हिँड्ने यी तीन कविहरू – रोशन परियार , मौन आवाज र कृष्ण विश्वकर्मा’ का बारेमा यहाँ चर्चा गरिएको छ ।
रोशन परिवार
आफ्नो पहिलो काव्य कृति ‘सियोको दुरबिन ‘ मार्फत समाज रुपान्तरणको लागि जागरणका कविताहरू पस्कने कवि रोशन परियार यो समयका प्रिय र बलशाली कवि हुन् । यिनका कवितामा जागरणको बुलन्द आवाज भेटिन्छ । प्रगतिशील चेतना बोकेर समाज र सत्ता हल्लाउने कविता लेख्छन् यिनी । आक्रोश छैन र छैन कुनै नारा, बरू कलात्मक जागरणको गीत भेटिन्छ यिनका कवितामा । आफ्ना कवितामा फूलजस्ता कोमल शब्दहरूको प्रयोग गर्छन् यिनी । तीखो विचार हुन्छ सियोजस्तो । सामाजिक असमानतालाई सुन्दर ढंगले प्रहार गरिएको पाइन्छ । अस्तित्वको प्रश्नलाई केन्द्रमा राखेर कविता कोर्ने कवि हुन्- रोशन परियार । मसिना र अरूले छोडेका विषयलाई टपक्क टिपेर वैचारिक कविता सिर्जना गर्न रमाउँछन्, रोशन । कवितामै विचारको बहस चलाउने कवि रोशन परियार यो समयमा सुन्दर कविताको बाटो हिँडिरहेका कवि हुन् । यिनका प्रत्येक कवितामा गहिरो मानवीय संवेदना पाइन्छ । पीडाको पहाडबाट सुन्दर शैलीमा प्रहार गरेका हुन्छन् बलियो विचारले । दुख्दैन तर सोचमग्न बनाउँछ हरेकलाई । बेथिति, दलन र अन्यायका विरूद्धमा पनि बौद्धिक कविता कोरेर विचारको तलाउमा धकेल्छन् पाठकलाई ।
कवि रोशन परियारको सिक्का र नोट :
सिक्काहरुको एउटा मिठो सपना हुन्छ, नोट बन्ने
यसकारण पनि नोटहरुले नोट भई दिइरहनुपर्छ
ता कि सिक्काहरुले नोट बन्ने
अधुरो सपना देख्न पाइरहुन्
ता कि सिक्काहरुले आफैं बेचिने
धमिलो सपना देख्न पाइरहुन्
प्राय सिक्काहरुको सपना साझा हुन्छ, उस्तै हुन्छ
सपना र बिपना प्राय: आधा हुन्छ तर दुरुस्तै हुन्छ
सिक्काहरु हरेक दिन सपना देख्छन्
जस्तो कि
एक दिन उडिरहेको रंगिन नोटले
बसिरहेको साधा सिक्कालाई भन्यो
मेरो दाँजोमा के औकात छ तेरो ?
मेरो अगाडि के हैसियत छ तेरो ?
बडो हार्दिकताका साथ सिक्काले जवाफ दियो
आदरणीय नोटज्यू !
छिल्लिदै हिंड्नु र छपक्क बस्नुमा
केही त पक्का भिन्नता हुन्छ
कच्याककुचुक्क बनेर कुच्चिनु र सग्लो बनेर टल्किनुमा
केही त पक्का भिन्नता हुन्छ
हलुंगो बनेर हावासँगै उड्नु र गरुङ्गो बनेर गोजीभित्र बस्नुमा
केही त पक्का भिन्नता हुन्छ
ज्युँदै मा मुर्दा जस्तो पानी माथि तैरिनु
र तैरिंदा तड्पिएको तमासा हेर्न पानी मुनी
गहिरिनुमा
केही त पक्का भिन्नता हुन्छ
भिन्नता यस्तो हुन्छ कि
हजुर कुनै पनि बेला च्यातिन सक्नु हुन्छ,
ढडेर खरानी बन्न सक्नु हुन्छ,
उडेर आकाशमा विलाउन सक्नु हुन्छ,
म त मर्दा पनि शिरमा बस्छु, शरीरमा बस्छु, निधारमा टाँसिन्छु, बाटो देखाउँछु
हजुर जस- जसको हातमा पुग्नुहुन्छ
सबैभन्दा पहिले दोब्रिनु हुन्छ,
भाँचिनु हुन्छ, खुम्चिनु हुन्छ, मैलिनु हुन्छ,
र फेरि अर्काकै हातमा पुग्दा पनि ऋण बनेर पुग्नुहुन्छ
त्यसैले हजुर वैशाकी टेक्ने तानाशाह जस्तो देखिनु हुन्छ
त्यसैले हजुर निर्धो निरंकुश जस्तो देखिनु हुन्छ
म जस-जसको हातमा पुग्नेछु
टुट्ने छैन, फुट्ने छैन, मैलिने छैन
बरु निर्णय गर्न गाह्रो भएको बेला माथि उफ्रने छु
र तल झर्दा निर्णायक भइसक्ने छु
र फेरि अर्काकै हातमा पुग्दा पनि
भेटी बनेर पुग्नेछु
एक सिक्काको दुई पाटो भन्ने उखान बनेर पुग्नेछु
त्यसैले म आदिम कालदेखिको संस्कार जस्तो देखिने छु
त्यसैले म फैसलाको विश्वासिलो आधार जस्तो देखिने छु
म प्राय मन्दिरमा बस्छु
मेरा आफन्त नै भगवान हुन्छन्
हजुर घर-घरमा बस्नुहुन्छ
हजुरका आफन्त नै प्राय: दुश्मन हुन्छन्
नभुल्नुहोला
हजुर मभन्दा हजार गुणा ठूलो हुनुहुन्छ
तै पनि एकैपटकमा च्यातिनु हुन्छ
म हजुर भन्दा हजार गुणा सानो छु
तर हजार पटकमा पनि च्यात्न सक्दैनन् मलाई
म माटाको खुत्रुकेमा पनि सुरक्षित हुन्छु
हजुर बैंकको बाकसमा पनि असुरक्षित हुनुहुन्छ
मेरो औकात नभए कै कारण हजुरको रवाफ बढेको हो
मेरो हैसियत नभए कै कारण हजुरको दबाब बढेको हो
माफ गर्नुस्
गाढालाई “गाढा” भन्न पनि फिक्का चाहिन्छ
नोटलाई “नोट” भन्न पनि सिक्का चाहिन्छ ।
मौन आवाज
आफ्नो पहिलो काव्य-कृति ‘यो शताब्दीमा म पनि छु’ जस्तो अस्तित्ववादी चिन्तन पस्किएर कवितामा बलियो परिचय दिएका कवि हुन्- मौन आवाज । आत्मसम्मान र अस्तित्वको प्रश्नलाई गम्भीर रूपमा अघि सार्ने मौन आवाज आफ्नै शैलीले चिनिएका कवि हुन् ।
मौलिक अनुभूति, शिल्प-सौन्दर्य र नवीन प्रयोग यिनको कविता लेखनको विशिष्टता हो । अलग खालको भाषा र लय भेटिन्छ यिनका कवितामा ।
गहिरो भाव हुन्छ- दार्शनिक चेत बोकेका हरेक कवितामा । निद्रामा विवेक गुमाएको शासक होस् वा मुर्दा समय । आफ्नै छायामा हराएको मानिस होस् या आवाज हराएको । सबैको स्वर भेटिन्छ यिनका कवितामा । वर्तमान समयलाई सम्बोधन गरिरहेका हुन्छन् यिनका कविताले ।
कतिपय कविता निकै दुरुह हुन्छन् यिनका । कविताको गहिराइमा पुग्न गाह्रो हुन्छ, सामान्य पाठकलाई । पछिल्लो समयका शक्तिशाली कवि हुन्, मौन आवाज । मुलत : राजनीतिक बेथिति, सामाजिक असमानता, प्रेम र मानवीय संवेदनालाई मूल विषय बनाएर कविता लेखेको पाइन्छ । पछिल्ला कविताहरू समेटेर नयाँ कृति ‘भावलहर’ आउने तयारीमा छ यिनको ।
कवि मौन आवाजको ‘चिया’
एकाबिहानै म झस्किएको छु
आज चिया किन नुनिलो छ ?
रगत जस्तै नुनिलो
पसिना जस्तै नुनिलो
के मिसियो चियामा ?
यो के भइरहेको छ –
लाग्दै छ – चिया होइन गहिरो पीडा पिउँदै छु !
यस्तो त कहिल्यै भएको थिएन –
पक्कै पनि
चिया टिप्दै गर्दा चियाको पातमा
कसैको आँसु खसेको हुनुपर्छ !
कृष्ण विश्वकर्मा
आफ्नो पहिलो काव्य कृति ‘भोकको लय’सँगै स्पष्ट विचारसहित आएका कवि हुन् कृष्ण विश्वकर्मा । समयको शक्तिशाली आवाज छ, कृष्णको कवितामा । उनका पछिल्ला कविता निकै सुन्दर र शक्तिशाली भएर आएका छन् । सामाजिक कुसंस्कार, अनेक खाले बेथिति, अन्याय र दलनविरूद्ध तीव्र आक्रोश पोख्न खप्पिस छन् कृष्ण ।
समयलाई चरप्प पक्रिएर लेख्छन् कविता । कलात्मक चेत गुमाउदैनन् विद्रोहको भाषा बोल्दा । कलाकै बाटोबाट निर्धक्क समयको आवाज बोलिरहेका हुन्छन् कवितामा । आत्मसम्मानको मुद्दालाई मूल विषय बनाएर उभिएका यिनी कवितामा नयाँ तरिकाले बोल्ने आँट गर्छन् ।
बोकेर हिडिरहेका छन् विचारको आगो । पूरै सचेत छन्, यिनी कवितामा त्यो आगो ननिभोस् भन्नेमा । केही नौलो कुरा उघारेर देखाउन चाहन्छन् यिनी कवितामा । र, भन्न चाहन्छन् नयाँ तरिकाबाट ।
कवि कृष्ण विश्वकर्माको ‘भत्किनु’
भत्किनु,
नासिनु र बिग्रनु मात्रै होइन रहेछ
न हो रहेछ-केवल कुरुप देखिनु
हेर्नुस् त !
कोपिलामा पुष्पदलहरू भत्केपछि
कति सुन्दर देखिन्छ्न् हरेक फूलहरू
भत्किनु,
विलय पछिको उदय पनि त हो
जसरी,
क्रुर शासक-दरबार भत्केपछि
शासित झुपडीहरूमा छाउँछन् उमंग
जसरी,
भत्केपछि
‘मैँ अग्लो हुँ ‘ भन्ने बूढो रुखहरू
भुल्नेछन् भुइँ बुट्यानहरूले
होचो- अग्लो हुनुको कुटिल भाष्य
जसरी,
भत्केपछि जातीय अहंकार
बन्न सक्छ हरकोही बुद्धकै प्रतिबिम्व
म सोच्थें,
भत्कें भने खण्डहर भई जानेछु
भत्कें भने अश्रु दह भई जानेछु
ए छुत मान्छे !
तिम्रो विभेद र दलनले
भत्किँदा भत्किँदै
म त भई गएछु – ‘आगोको फूल’ ।





