रुबेला खोप अभियान शुभारम्भ

विराटनगर, ६ फागुन :

प्राणघातक रोग दादुरा रुबेला र पोलियो संसारबाट उन्मूलन गर्ने विश्व स्वास्थ्य सङ्गठनको अभियानमा प्रदेश सरकारमा सक्रिय सहभागिता जनाएको छ । दादुरा रुबेलाको कारण मानिसको ज्यान जान सक्ने र पोलियोका कारण मानिस अपाङ हुने भएकाले नै यो अभियान प्रदेश नं १ को सरकारले आजबाट शुरु गरेको हो ।

यो अभियानले कुनै बालबालिका छुट्न नहुने र नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला र जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियो खोप अभियान सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत प्रदेशभरिमा दादुरा रुबेला चार लाख २७ हजार १२ बालबालिकालाई र पोलियो तीन लाख पाँच हजार ३४२ बालबालिकालाई दुई चरणमा खुवाउने स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिनुभयो ।

उहाँले यसका लागि आठ हजार १५२ खोप केन्द्र, त्यति नै सङ्ख्यामा स्वास्थ्यकर्मी र १६ हजार ३०४ स्वयंसेवक परिचालन हुने जानकारी दिनुभयो । मोरङमा दादुरा रुबेला ९२ हजार ८०५ जनालाई र पोलियो एक लाख नौ हजार ९२९ जनालाई खुवाउने र यसका लागि खोप केन्द्र ९००, स्वयंसेवक एक हजार ८०० र स्वास्थ्यकर्मी ९०० परिचालन गर्ने स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

मोरङमा यो अभियान दुई चरणको कार्यक्रमअनुसार आठ स्थानीय तहलाई आजदेखि १४ गतेसम्म र दोस्रो चरणमा नौ स्थानीय तहलाई फागुन १६ देखि २४ गतेसम्म चल्ने बताइएको छ । पोलियो सुनसरी, मोरङ र झापामा मात्र खुवाउने कार्यक्रम छ ।

प्रदेश नं १ को सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज मोरङको कटहरीमा स्थानीय दुई वर्ष चार महिनाकी बालिका नित्या साहलाई पोलियो थोपा खुवाउँदै दादुरा रुबेला खोप अभियान तथा नियमित खोप कार्यक्रम–२०७६ को शुभारम्भ गर्नुभयो ।

मन्त्री घिमिरेले भविष्यका कर्णधार बालबालिकालाई रोगमुक्त गर्न यो अभियान सञ्चालन भएको र यसलाई सफल बनाउन जनप्रतिनिधिले साथ दिनुपर्ने बताउनुभयो । स्वास्थ्य विभाग परिवार कल्याण महाशाखाका भरत भण्डारी, कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले पनि यो अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।(रासस)

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने