आज राष्ट्रिय प्रजातन्त्र दिवस, देश भर विभिन्न कार्यक्रम गरी मनाइँदै 

काठमाडौं, ७ फागुन :

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदैछ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ ।

यस्तै नेपाली सेनाको हेलिकाेप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ ।

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्था छ ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने