काठमाडौं, १३ फागुन :
प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीहरुलाई कार्यभार थपिएको सम्बन्धी पत्र पढेर सुनाउने तथा विभिन्न विधेयक छलफल र पारितका लागि पेश गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७६’ पेश गरिने भएको छ । त्यस्तै अर्थमन्त्री युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’ र ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७६ छलफल र पारितका लागि पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको ‘बिउ बिजन दोस्रो संशोधन विधेयक २०७५’ छलफल र पारितका लागि पेश गर्नेछन् । संसद सचिवालयका अनुसार बैठकमा कृषि मन्त्री भुसालले ‘विरुवा संरक्षण पहिलो संशोधन विधेयक २०७६’ पनि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
यसअघि गत ८ गतेको प्रतिनिधिसभा बैठक प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो । आजको बैठक भने स्थगित नहुने भएको छ । हिजो मुख्य विपक्षी दल कांग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच भएको छलफलमा बैठक स्थगित नगर्ने निर्णय गरिएको हो ।
आजको बैठकमा सुरुमै समय लिएर बोल्ने व्यवस्था सभामुखले मिलाईदिएमा बैठक चल्न दिने र बोल्न नपाए बैठक अबरोध गर्ने निर्णय तीन दलको बैठकले गरेको छ । गत बैठकमा कांग्रेसले तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस मागेको अडियो टेप प्रकरणका प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गरेको थियो ।