राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा

काठमाडौं, १५ फागुन :

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि सुदूरपश्चिम प्रदेशको भ्रमणमा आएकी छिन् । तीनदिने भ्रमणका क्रममा उनी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको छ । उनको भ्रणमका क्रममा स्वागतका लागि भन्दै प्रदेशका दुई जिल्लामा चार स्थानीय तहमा बिहीबार सार्वजनिक बिदा दिएका छन् ।

राष्ट्रपति भण्डारीको स्वागतका लागि बैतडीको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । बुधवार प्रदेशको कैलाली आएकी राष्ट्रपति भण्डारी बिहीबार सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी र दार्चुला आउने कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

बिहीबार दिउँसो २ बजे बैतडीको दशरथचन्द नगरपालिकामा त्रिपुरासुन्दरी मन्दिरमा राष्ट्रपति भण्डारीको विषेश पुजाआजा हुने प्रजिअ पौडेलले बताए । यसका साथै सोही अवसरका दशरथचन्द नगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको उपप्रमुख मिना चन्दले बताएइन् ।

उनको नागरिक अभिनन्दन कार्यक्रम रहेकोले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रमुख चन्दको भनाइ छ । त्यसपश्चात दिउँसो ३ बजे पाटनमा रहेको भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा पाटन नगरपालिका र सम्पूर्ण जिल्लाबासीको तर्फबाट नागरिक अभिनन्दन गरिने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए ।

त्ससअघि बिहीबार बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा पनि राष्ट्रपतिले विषेश पूजाआजा गर्ने कार्यक्रम रहेको छ। साथै मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । यस्तै, १६ गते बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी १७ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ । यसैबीच राष्ट्रपति भण्डारी सुदूरपश्चिममा आएपछि यहाँको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । राष्ट्रपतिको सुरक्षाका लागि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो । सुरक्षाको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी गरी आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी