बैतडी, १५ फागुन :
बैतडीमा २७ हजार ४३४ बालबालिकाहरुलाई दादुरा-रुबेला खोप लगाइने भएको छ । दादुरा-रुबेला खोप अभियान अन्तर्गत आगामी चैत १ गतेदेखि चैत १४ गते सम्म ९ महिना भन्दा माथिका र ५ बर्ष मुनिका बालबालिकाहरुलाई सो खोप लगाइने भएको हो ।
दादुरा तथा रुबेला रोग लाग्न नदिनका लागि दादुरा-रुबेला खोप अभियान सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
जिल्लाका ८४ प्रतिशत बालबालिकाहरुको मात्रै खोपमा पहुँच देखिएकाले दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको हो, उनले भने, बच्चालाई १५ महिना हुँदा दादुरा-रुबेला खोप दोश्रो पटक लगाउनुपर्ने भएपनि त्यो खोप लगाउने बालबालिकाहरुको संख्या कम रहेको छ । बैतडी पूर्ण खोपयुक्त जिल्ला भएकाले बालबालिकाहरुले पाउनुपर्ने खोप पूर्ण रुपमा पाउनुपर्ने हुन्छ ।
बैतडीलाई २०७२ साल असार ६ गतेका दिन पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । दादुरा-रुबेला खोप अभियानका लागि दुई सय बढी स्वास्थ्यकर्मी र १ हजार २६० स्वयंसेवक परिचालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
चैत १ देखि ७ गतेसम्म पहिलो चरण र ८ देखि १४ गतेसम्म दोश्रो चरण गरी दुई चरणमा खोप अभियान सञ्चालन हुने जनाइएको छ। पहिलो चरणमा जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका,सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।
दोश्रो चरणमा पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लाका ६३० खोपकेन्द्रबाट दादुरा-रुबेला खोप दिइनेछ ।