काठमाडौं, १९ फागुन :
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरसको आंशकामा आइसोलेसनमा राखिएका ४ जनाको परिक्षणका लागि नमुना संकलन गरिँदैछ । कोरोना भाइरस प्रभावित मुलुक चीन र दक्षिण कोरियाबाट आएका व्यक्तिमा ज्वरो देखिएपछि परिक्षणका लागी आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिनुभयो ।
चीनबाट आएका चिनिया नागरिकले ज्वरो आएपछि अस्पतालनमा सम्पर्क गरेका थिए । हिजै भर्ना भएका अन्य तिन जना दक्षिण कोरियाबाट केही दिन अघि काठमाडौं आएका नेपाली नागरिक हुन् । यसअघि अस्पतालमा १९ जनालाई आइसोलेसनमा राखिसकिएको बास्तोलाले जानकारी दिनुभयो । जसमध्ये भाइरसको संक्रमण १ जनामा मात्रै पाइएको थियो ।
ती ब्यक्ति सञ्चो भएर घर फर्किएको तथा अस्पतालसँग निरन्तर सम्पर्कमा रहेको अस्पतालले दाबी गरेको छ । प्रभावित मुलुकबाट नेपाल आएर रुघा वा ज्वरो लागेकालाइ समेत अस्पतालले निगरानीमा राखेको प्रवक्ता बास्तोलाले जानकारी दिनुभयो ।
यसैवीच चीनको वुहानबाट उद्धार गरि क्वारेन्टाइनमा राखिएकाहरुको आज अन्तिम परिक्षणको रिर्पोट आएपछि छाड्ने वा फेरी आइसोलेसनमा राख्ने पर्ने बारे स्वास्थ्य मन्त्रालयले निर्णय गर्नेछ । यद्यपि, रिर्पोटमा कोहीमा पनि कोरोना भाइरस देखीने सम्भावना न्युन रहेकाले डिस्चार्जको सम्भावना बढि छ । चीनको वुहानबाट नेपाल वायु सेवा निगमको जहाजले उद्धार गरि १ सय ७५ जनालाई काठमाडौं ल्याईएको हो ।