केही दिन मौसम सफा हुने

काठमाडौँ, ८ फागुन :

आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ । “आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ”, उहाँले भन्नुभयो ।

पछिल्लो केही दिनयता अपराह्न तथा साँझपख मौसम बदली भई हल्का वर्षा भएको थियो । प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्न तथा साँझापख मौसममा परिवर्तन भएको मौमसविद्को भनाइ छ । अबको तीन दिन भने मौसम सफा हुने बताइएको छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव तीन डिग्री र अधिकतम तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । (रासस)

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी