कोभिड–१९ प्रभाव : श्रम स्वीकृति स्थगित

काठमाडौँ, २० फागुन :

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ । कोभिड–१९ को सन्त्रास कम नभए सम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले राससलाई जानकारी दिनुभयो ।

अत्यावश्यकबाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिसकेको अवस्थामा सो संक्रमण जोखिम रहेका मुलुकमा नेपाली कामदार नपठाउन लागिएको उहाँले बताउनुभयो । “सरकारले पनि अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको छ, सर्वोच्च अदालतले पनि प्रभावित मुलुक सँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ”, मन्त्री यादवले भन्नुभयो, “त्यही कारण हामीले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेकै हो ।”

कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने उहाँले जानकारी दिनुभयो । अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीहरुलाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको थियो ।

दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले यसअघि नै त्यहाँ जान रोक लगाइसकेको छ । विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएका थिए ।

ठूलो सङ्ख्यामा नेपाली कार्यरत विभिन्न श्रम गन्तव्य मुलुकमा कोभिड–१९ को संक्रमण देखिएको छ । दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन र ओमानमा पनि कोरोना सङ्क्रमित फेला परिसकेका छन् । कोरियामा झण्डै ४० हजार हाराहारीमा नेपाली विभिन्न काम तथा पेशामा संलग्न छन् । त्यस्तै मध्यपूर्वी मुलुकमा पनि झण्डै १० लाख नेपाली कार्यरत रहेका सरकारको तथ्याङ्क छ ।(रासस)

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’