काठमाडौं, २ चैत :
नेपाल र भारतका सीमावर्ती अधिकारीहरुको आइतबार बर्दियाको ठाकुरद्वारामा बैठक बस्दैछ । सीमावर्ती अधिकारीहरुको नियमित बैठक भए पनि यसपाली कोरोना भाइरस र त्यसको सावधानीका बारेमा बढी चर्चा हुने अधिकारीहरुले बताएका छन् ।
भारतले रुपैडिहा नाका समेत बन्द गर्ने समाचार आइरहँदा हुन थालेको सीमावर्ती अधिकारीहरुको बैठकले एउटा निष्कर्ष निकाल्ने विश्वास गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गर्ने, खोल्ने केन्द्रीय सरकारको नीति भएपनि बैठकमा यसबारेमा छलफल हुने बताए ।
भारतले जारी गरेको सात बुँदे सूचनाको चौथो बुँदामा उत्तराखण्डको वनवासा, उत्तरप्रदेशको सुनौली, विहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकाबाट मात्रै आवागमन गर्न पाउने जनाएपछि रुपैडिहा नाकाको आवागमन बारेमा प्रश्न उब्जिएको छ ।
सीमावर्ती समस्यामा केन्द्रित रहेर हुने अन्तरदेशीय बैठकमा कोरोनाबाट बच्न नाकामा गर्न सकिने उपायका बारेमा अधिकारीहरुले छलफल गर्ने तयारी गरेका छन् । बैठकमा बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका सुरक्षा अधिकारीहरु सहभागी हुने बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए ।
यसअघिको बैठक भारतमा बसेको थियो । नेपाल र भारतका सीमावर्ती अधिकारीहरु नेपाल र भारतमा पालैपालो बैठक बस्ने गर्दछन् । नेपालतर्फबाट जमुनाहा नाका ९रुपैडिहा० मा कोरोना जाँचलाई प्रभावकारी बनाउँदै लगिएको छ । भारतबाट आउने हरेकलाई जाँच गर्ने र शंकास्पदलाई अस्पताल लगेर उपचार गराउने काम अघि बढेको छ ।
त्यसका लागि नाकामा तीन जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ भने एम्बुलेन्ससमेत राखिएको छ । रुपैडिहा पश्चिम क्षेत्रमा बढी चहलपहल हुने नाकामा पर्छ । सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जानेको संख्या ठूलो छ ।
अझ कर्णाली प्रदेशका पहाडी जिल्लाबाट दैनिक ठूलो संख्याका मानिस रोजगारीका लागि भारत जाने गर्दछन् । रुपैडिहा नाका बन्द गर्ने बित्तिकै नेपालगञ्जमा उपभोग्य बस्तुमा कालाबजारी हुने संभावना बढ्छ । सरकारले रुपैडिहा र जोगबनी नाकालाई बन्द नगर्न कूटनीतिक पहल गरिरहेको छ ।