जाँड खाएको फोटो किन खिचेको भन्दै पत्रकार आचार्यमाथि सांघातिक आक्रमण

चितवन, ३२ असार :

पत्रकार कृष्ण आचार्यमाथि सांघातिक आक्रमण भएको छ । शुक्रबार अपरान्ह नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका रक्सीले मातेका कर्मचारीहरुले कार्यालय परिसर भित्र सम्पादक आचार्यमाथि सांघातिक आक्रमण गरेका हुन् ।

शुक्रबार अपरान्ह कार्यालय भित्रै जाँडपार्टी गरिरहेको खबर पाएपछि पत्रकार आचार्य समाचार संकलनका लागि अपरान्ह कार्यालय परिसर भित्र प्रवेश गरेका थिए । सोही बेला जाँडमा मातेका कर्मचारीहरुले जाँड खाएको फोटो किन खिचेको भन्दै पत्रकार आचार्यमाथि आक्रमणमा उत्रिएका थिए ।

५-७ जनाको एक समूहले आक्रमण गर्न थालेपछि पर्खाल नाघेर ज्यान जोगाउन सफल भएको सम्पादक आचार्यले बताउनुभयो । ती कर्मचारीहरुले आक्रमण गरेर सबै कपडा च्याति दिएका छन् ।

कार्यालय प्रमुखकै निर्देशनमा कार्यालयको मुख्य गेट नै लगाएर कुटपिट गरिएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,‘कार्यालय प्रमुख सिंहको नेतृत्वमै घटना भएको छ, उनले नै आक्रमण गर्न निर्देशन दिएका हुन् ।’ सबै कर्मचारी रक्सीको मातमा रहेका कारण कसैले पनि अक्रमण र दुव्र्यवहारको विरोधमा नबोलेको आचार्यले बताउनुभयो । कर्मचारीले कार्यालयको मुख्य गेट बाहिरसम्म लखटेका थिए ।

पत्रकार आचार्यले कार्यालय नजिकै रहेको चितवनपोष्ट दैनिकको कार्यालयमा गएर आफुले ज्यान बचाएको बताउनुभयो । पत्रकार आचार्यको टिसर्ट च्यातिएको छ भने शरीरका विभिन्न ठाँउमा चोट लागेको छ ।

घटनापश्चात कार्यालयमा नेपाल पत्रकार महासंघको टोली प्रहरीसहित कार्यालयमा पुगेको थियो । तर त्यतिबेला जाँड खाएका सबै कर्मचारी भागेका थिए भने नखाएका केही मात्र कार्यालयमा देखिन्थे । उनिहरुले रक्सीका बोतल र खाएका पिलेट नजिकैको झाडीमा फालेको भेटिएको थियो । पत्रकार आचार्यलाई दुव्र्यवहार गरेका ठाँउमा रक्सी र खानेकुरा पोखिएको छ । कार्यालयको दिनभरको सिसिटिभी समेत डिलिट गरिएको छ । यसै घटनालाई लिएर पत्रकार आचार्यले घटनाको दोषी पत्ता लगाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसमक्ष उजुरी दिनुभएको छ ।

यसबीच घटनामा संलग्न एक जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । राती ११ बजे एक कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दिउँसै कार्यालयमा खसी काटेर जाँडपार्टी गर्ने कार्यालय प्रमुखसहितका कर्मचारीलाई नियन्त्रणका लिएर कारवाही गर्न माग चितवनका पत्रकारले गरेका छन् ।

उनीहरुले राती अबेरसम्म जिल्ला प्रहरी कार्यालय चितवनमा धर्ना दिएर घटनामा संलग्न कार्यालय प्रमुखसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेका छन् ।

कार्यालयका प्रमुख सिंहले यसअघि पनि कार्यालय समयमै जाँड पार्टी गर्ने र विचौलीयासंग मिलेर भरतपुरमा लोडसेडिङ गर्ने गरेको गुनासो आउने गरेको थियो ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव