काठमाडौं, २६ भदौ :
प्रधान सेनापति महारथी प्रभुराम शर्माले आफ्नो पदबहाली भएको एक वर्षका अवसरमा आइतवार जङ्गी अड्डा स्थित सभामण्डपमा एक कार्यक्रम गरेर सम्बोधन गर्नुभएको छ ।
सम्बोधनका क्रममा उहाले हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ।
शर्माले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढीकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने पनि सम्बोधनका क्रममा बताउनुभएको छ।
हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहनु , उहाले सम्बोधनका क्रममा भन्नुभयो, सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढिकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुन्छ ।
उहाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न पनि सेनाको ध्यान जानुपर्ने बताउनुभएको छ।
मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानी लगायत बिष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको बाहिरी सुरक्षा जस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्नु आवश्यक छ, उहाले भन्नुभयो, निर्वाचनका क्रममा आफ्नो व्यावसायिकताको उदाहरण प्रस्तुत गर्नु।
उहाले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजना समय सीमाभित्रै निर्माण सम्पन्न गर्न समेत निर्देशन दिनुभएको छ ।
कार्यक्रममा नेपाली सेनाका उपत्यका भित्रका रथी, अधिकृत, पदिक तथा अन्य दर्जा सहभागी थिए । उक्त कार्यक्रमलाई नेपाली सेनाका सम्पूर्ण फर्मेशन, युनिट तथा सब(युनिटहरूमा लाइभ मल्टिकाष्ट गरिएको थियो।
उक्त सम्बोधनमा शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण लक्ष्यहरु र उपलब्धिको समीक्षा पनि गर्नुभयो । प्रधान सेनापति शर्माले प्राथमिकताका क्षेत्रहरुमा जोड दिंदै आगामी कार्यदिशाबारे पनि जानकारी गराउनुभयो।





