भरतपुर, २६ चैत्रः
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानी क्षेत्रमा सञ्चालित चार क्रसर उद्योगहरुले गाउँपालिकालाई संयुक्तरुपमा पिपिई प्रदान गरेका छन् । आज बुधबार गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई ४० थान पिपिई र ४ सय ५० थान सर्जिकल मास्क निःशुल्क रुपमा हस्तान्तरण गरिएको हो । सिमपानीमा सञ्चालित चतुर्मुखी क्रसर तथा बालुवा प्रशोधन उद्योग, जय मनहरी बालुवा उद्योग, जनसेवा क्रसर उद्योग र कामना क्रसर उद्योगले सो परिमाणको पिपिई र मास्क उपलब्ध गराएका हुन् ।
विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोभिड १९ अर्थात नोवल कोरोना भाईरसको उच्च जोखिममा रहने स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी सो परिमाणको अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराईएको संयोजक तथा चतुर्मुखी क्रसर तथा बालुवा प्रशोधन उद्योगका सञ्चालक राजकुमार रावलले बताउँनुभयो ।
सो अवसरमा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले संकटको समयमा क्रसर तथा बालुवा उद्योगहरुले खेलेको भुमिकाको उच्च प्रशंशा गर्नुभयो । “हामीले वडा मार्फत गाउँपालिका क्षेत्रका बिपन्न परिवारलाई अत्यावश्यक खाद्यान्न पनि उपलब्ध गराईरहेका छौं । तर यस प्रकारका स्वास्थ्य सामग्री त सजिलै किन्न पनि मुस्किल छ । यस्तो बेला क्रसर उद्योगीहरुको सहयोग निकै महत्वपुर्ण छ ।” उहाँले भन्नुभयो ।

कोरोना भाईरसको जोखम बढ्दै जाँदा स्वास्थ्यकर्मीहरुले समेत अझ बढी सुरक्षाका उपायहरु अपनाउँनुपर्ने देखिएको छ । यसै सन्दर्भमा कोरोना बिरुद्धको लडाईमा अग्रपक्तिमा रहेर खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षा कवचको रुपमा रहने पिपिई हस्तान्तरण गरिएको क्रसर उद्योगीहरुको भनाई छ ।
चतुर्मुखी क्रसर तथा बालुवा प्रशोधन उद्योगले हिजो मंगलबार पनि गाउँपालिकालाई १५ थान पिपिई, साढे ७ लिटर सेनिटाईजरका साथै एक हजार थान ग्लोब्स र उती नै परिमाणमा क्याप हस्तान्तरण गरेको क्रसरका सञ्चालक एवं रेडियो त्रिवेणीका प्रबन्ध निर्देशक सुदिपसिंह अधिकारीले जानकारी दिनुभयो ।
सो अवसरमा उद्योगीहरु अनुप कुमार थापा, रेगन पन्त, मनहरी गाउँपालिकाका स्वास्थ्य संयोजक टिका अधिकारी लगाएतको पनि उपस्थिती रहेको थियो ।






