काठमाडौं, ६ भाद्र : काठमाडौंबाट पोखराका लागि छुटेको बस धादिङको त्रिशूली नदीमा खस्दा आठ जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
दुर्घटनास्थलबाट २४ जनाको उद्धार गरिएकोमा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तु जयसवालले जानकारी दिनुभयो ।
घाइते १६ जनामध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौं पठाएको र दुई जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको उहाँले बताउनुभयो । ज्यान गुमाउनेमध्ये दुई जना महिला र छ जना पुरुष हुन् । गाडीमा कति यात्रु थिए भन्ने खुलेको छैन ।
गाडीका चालक तथा सहचालकको अवस्था पनि थाहा नभएको डीएसपी जयसवालले जानकारी दिनुभयो ।





