चितवन, २८ पुस : भरतपुर महानगरपालिका वडा नं–१८, चनौलीमा रहेको जेएमसी बचत तथा ऋण सहकारी संस्थाको १७औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । भरतपुर–१८ का वडाध्यक्ष बाबुराम रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सो अवसरमा बोल्दै उनले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवश बदमासी गरेको हुँदा सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोबार गर्नुपर्ने बताए । उक्त अवसरमा संस्थाका अध्यक्ष महेन्द्र गुरूङले आगामी दिनमा समेत सहकारीले स्थानीयहरुसँग हातेमालो गर्दै विकास निर्माण र निम्न आयस्रोत रहेका सेयर सदस्यहरुको उत्थानका लागि नयाँ कार्यक्रमका साथ बचतकर्ताहरुको विश्वास जित्दै अझै सशक्त ढङ्गले अघि बढ्ने बताए ।
सञ्चालक समितिको तर्फबाट सचिव ओमप्रसाद लामिछानेले संस्थाले आव ०८०÷८१ मा शेयर सदस्यता वृद्धि, बचत वृद्धिजस्ता योजना प्रस्तुत गरे । सहकारीलाई अगाडि बढाउन एक जना व्यक्तिको मात्र नभएर सबै सदस्यहरुको उत्तिकै भूमिका रहने भन्दै उनले सबै सदस्यहरु मिलेर अगाडि बढ्नुपर्ने बताए । त्यस्तै, कोषाध्यक्ष मेनका रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दैै संस्थाको कुल मुनाफा २७,९४,९३६ रहेको र कुल पुँजी तथा दायित्व ७ करोड ५७ लाख ९१ हजार १ सय ८० रहेको साथै कुल आम्दानी १ करोड १२ लाख ५८ हजार ९०४ रहेको उल्लेख गरिन् ।
उक्त अवसरमा ज्येष्ठ नागरिकहरु चूडामणि उपाध्याय, धर्मप्रसाद ढकाल, लमिखु गुरूङलगायतसँगै असल ऋणी तथा बचतकर्ताहरु लक्ष्मी घिमिरे, विष्णुप्रसाद अधिकारी, बालकृष्ण काफ्ले, निर्मल वाग्ले, कृष्णबहादुर गुरूङ र निर्मला मिजार सम्मानित भएका थिए । त्यस्तै, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु तोलप्रसाद काफ्ले, मेलिना थापा, अभिषेक पौडेल र दिया पोखरेललाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा भरतपुर–२० का वडा अध्यक्ष मुक्तिप्रसाद घले, चितवन चनौली शीतभण्डारका अध्यक्ष सूर्यमणि पौडेल, सहकारी तथा रोजगार प्रवद्र्धन महाशाखाका प्रतिनिधि सुकदेव ढकाल, आमा कल्याण समूहकी अध्यक्ष विष्णुमाया पराजुली, शेयर सदस्यहरु हरिकला ढकाल, पुरूषोत्तम अर्याल, हुमनाथ ढकाललगायतले बोलेका थिए ।



