काठमाडौं, २१ फागुन : देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । तर बेलुकीदेखि धेरै ठाउँको मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ । केही ठाउँमा अहिले पनि पानी परिरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाण्डौ उपत्यका र अरु पहाडी भेगका केही ठाउँमा पनि आज छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
बेलुकीदेखि भने मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । हिजो देशका धेरै ठाउँमा पानी परेको थियो ।



