नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले आज शपथ लिँदै

काठमाडौं, ११ वैशाख : नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले आज शपथ लिँदै हुनुहुन्छ । शपथसँगै उहाँले आजैदेखि काम थाल्नुहुनेछ । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि पन्त शिक्षामन्त्रीमा नियुक्त हुनुभएको हो । सामुदायिक विद्यालयका शिक्षकहरु तीन हप्ताभन्दा धेरै समयदेखि आन्दोलनरत रहेको बेला पन्त शिक्षामन्त्रीको जिम्मेवारीमा पुग्नुभएको छ । शिक्षक आन्दोलनको समाधान खोज्दै विद्यालयमा शैक्षिक गतिविधि पूर्ववत् रुपमा सञ्चालन गर्नु नवनियुक्त शिक्षामन्त्री पन्तको मुख्य चुनौती रहेको छ ।

शिक्षक आन्दोलनको कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना र पठनपाठन अवरुद्ध छ । एसईईको उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन भने आजदेखि शुरू हुनुपर्ने कक्षा १२ को परीक्षा १० दिन पछाडि सारिएको छ । शिक्षामन्त्री पन्तले पदभार ग्रहणसँगै आन्दोलनरत शिक्षकसँग संवाद गरेर समाधान खोज्न दबाब बढेको छ । नवनियुक्त शिक्षामन्त्री पन्तसँग २०६१ सालमा श्रम तथा यातायात व्यवस्थामन्त्री बनेको अनुभव छ । उहाँ २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र २०६६ सालका प्रधानमन्त्री माधवकुमार नेपालका प्रेस सल्लाहकार हुनुहुन्थ्यो ।

अहिले एमाले स्थायी कमिटी सदस्यसमेत रहेका पन्त समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँको पृष्ठभूमि पत्रकारितासँग पनि जोडिन्छ । उहाँले २०३२ सालदेखि पत्रकारिता शुरू गर्नुभएको थियो । पन्तले बुधवार साप्ताहिक, छलफल साप्ताहिक, नवयुग मासिक, युगधारा (रातो) र नेपाल पत्रकार महासङ्घमा महासचिव भएरसमेत काम गर्नुभएको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा