बागमतीकाे मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

काठमाडौं, २० साउन : बागमती प्रदेशको छैटाैं मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

बानियाँ ११० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपा एमाले गठबन्धनको समर्थनमा ६४ सांसदको बहुमतका आधारमा सरकार प्रमुख बन्नुभएकाे हाे । मकवानपुर घर भएका बानियाँ कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत हुनुहुन्छ ।

उहाँ डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामापछि बागमतीको नेतृत्व सम्हाल्ने छैटाैं व्यक्ति हुनुहुन्छ । मकवानपुरबाट यो जिम्मेवारी पाउने बानियाँ दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि बागमतीका पहिलो मुख्यमन्त्री डोरमणि पौडेल पनि मकवानपुरका हुनुहुन्थ्याे । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज शपथ ग्रहण गरेसँगै एमालेका तर्फबाट मन्त्री बन्ने व्यक्तिहरूको नाम प्रायः टुङ्गिएको छ ।

एमालेबाट यसअघिको सरकारमा समेत संलग्न एक जनामन्त्री पुनः दोहोरिने भएका छन् भने अन्य पाँच जना नयाँ अनुहार हुने निश्चितजस्तै छ । दोहोरिने मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका किरण थापा मगर हुनुहुन्छ । -हरि हुमागाईं

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी