विशेष महाधिवेशन माग्ने नेताहरूलाई बादलकाे चेतावनी, अहिलेलाई हस्ताक्षर अभियान स्थगित गर्नुस्

काठमाडौं, २४ चैत : नेकपा एमालेका कार्यबाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीभित्र विशेष महाधिवेशनको माग राखेर भइरहेको हस्ताक्षर अभियान रोक्न निर्देशन दिएका छन् । विशेष महाधिवेशनको अभियान चलाइरहेका बुद्धिजिवी परिषद्का अध्यक्ष गजेन्द्र थपलियासहितका नेताहरुलाई पार्टी कार्यालय च्यासल बोलाएर हस्ताक्षर अभियान रोक्न थापाले निर्देशन दिएका हुन् । ‘लागेको सुझाव राख्नुहोस्, र अहिलेलाई हस्ताक्षर अभियान स्थगित गर्नुस्,’ थापाको निर्देशन थियो ।

स्रोतका अनुसार हस्ताक्षर अभियान नरोकिए दमनको स्थिति आउन सक्ने चेतावनी पनि थापाले दिएका छन् । ‘यो अभियान चलाउने हो भने कि नेतृत्वले तपाईंहरु सामू आत्मसर्पण गर्नुपर्यो अथवा नेतृत्वले दमन गर्नुपर्छ,’ थापाले भनेका थिए । दमनको स्थिति आउन नदिन पनि हस्ताक्षर अभियान रोकिनुपर्ने उनले बताएका छन् । विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर अभियान चलाइरहेकाहरुले भने पार्टी पुनर्गठनका निम्ति आफ्नो पहलकदमीमा साथ दिन आग्रह गरेका थिए । ‘तपाईंहरु आफैले यो अभियानको नेतृत्व लिनुस् अथवा हाम्रो अभियानलाई साथ दिनुस् भन्यौ,’ एक सहभागीले भने, ‘पार्टी बचाउने यही उत्तम विकल्प हो ।’ कार्यबाहक अध्यक्ष थापाले हस्ताक्षर अभियानमा साथ दिन नसकिने जवाफ दिएका थिए ।

तर सँगै थापाले एमाले विघटनको अवस्थामा पुगेको निष्कर्ष पनि सुनाएका थिए । ‘अहिले पार्टी नै छैन, विभाजित छौ, विघटन भएको छ,’ थापाले भनेका छन्, ‘पार्टीको समीक्षा गर्न जरुरी छ । समीक्षा मार्फत क्रान्तिकारी परिवर्तन जरुरी छ ।’ निर्वाचनको परिणामबारे पनि थापाको जवाफ रमाइलो थियो । ‘जसले कमजोरी गर्छ, उही शक्ति हार्छ । हामीले हार्यौ, दुखी छौ भन्नुभयो,’ ती सहभागीले भने । यो छलफलमा थापा सहित पार्टी उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल पनि थिए ।

‘कार्यबाहक अध्यक्षबाट दमनको चेतावनी देखि पार्टी विघटनको अवस्थामा रहेको समेत बताउँदा अरु नेताहरुले भने सम्हालिएर समीक्षा गर्दै जानुपर्ने बताउनुभयो,’ सहभागी स्रोतले भन्यो । उनका अनुसार उपाध्यक्ष पौडेलले निर्वाचनको समीक्षा गर्दै जाँदा नेतृत्व परिवर्तनसम्म पुग्न सकिने जवाफ दिएका थिए । ‘समीक्षा गर्दैछौ । आवश्यक परे नेतृत्व परिवर्तन पनि हुन्छ, पार्टी पुनगर्ठन गरेरै जाने हो भन्नुभयो,’ उनी भन्छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा