हेम राज रिमाल
चितवन, २८ वैशाख : चितवनको एक मात्र गाउँ पालिका इच्छाकामना गाँउपालिकामा पछिल्लो समय आन्तरिक एवम् बाह्य पर्यटनको आकर्षणको केन्द्र बनेको छ । पालिकाले समेत स्थानीय नागरिकको जीवन स्तर उकास्नका निम्ति अनुदानमुखी कार्यक्रमहरु सञ्चालन गरे सँगै पर्यटकीय गतिविधि बढेको हो ।
गाउँपालिकाको पूर्वमा धादिङ्ग जिल्ला पश्चिममा तनहूँ तथा भरतपुर महानगरपालिका, उत्तरमा गोरखा जिल्ला दक्षिणमा कालिका नगरपालिका रहेका छन् । इच्छाकामना गाँउपालिका साविक दारेचोक, चण्डिभञ्ज्याङ्ग, काउले र दाहाखानी गाँउ विकास समितिहरुलाई एकीकरण गरी बनेको हो । चितवनको एक मात्रै गाँउ पालिका इच्छाकामना गाँउपालिकामा ७ वटा वडाहरु रहेका छन् ।
पर्यटकीय गतिबिधीका लागी ऐतिहासिक क्षेत्र उपरदाङगढी, मायाटार, घुर्केस सामुदायिक होमस्टे, लामो झरना जलविरे, चितवन कै सर्वाधिक उचाई रहेको सिराईचुली पहाड, चौकी डाँडा, हात्तिवाङ, धार्मिक क्षेत्र इच्छाकामना माईको मन्दिर, बालगौरी पाथीभरा मन्दिर, जलबिरे मन्दिर, सेतो पहरा गुफा, मनकामना केवलकारको सब स्टेशन, कुरिनटार बजार, मुग्लिङ्ग बजार, त्रिशुली नदी लगायत पर्यटन विकासका लागि प्रचुर सम्भावनायुक्त ठाँउ हो । इच्छाकामना माईको मन्दिरमा आएर इच्छा राखे इच्छा पुरा हुने जनविश्वास रहेको यस मन्दिरमा स्थानीय मात्र नभई छिमेकी जिल्ला गोरखा, धादिङ, तनहुँ, मकवानपुरसहित काठमाडौँबाट समेत पूजा गर्न आउने इच्छाकामना गाँउपालिकाका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो ।

गुरुङले भन्नुभयो, “पहिला बाटो थिएन हिडेर ओहोर दोहोर हुन्थ्यो अहिले सहजै मोटर बाटोबाट पुगिन्छ ।” उहाँले थप्नुभयो, “हामीले हाम्रो पालिकामा आउने पर्यटकलाई यहीको स्थानीय उत्पादनका परिकार खुवाउनु पर्छ भनि अनुदानमुखी कार्यक्रमहरु सञ्चालन गरेर एक वडा एक कृषि उत्पादन कार्यक्रममा जोड दिएका र्छौ ।” उहाँका अनुसार पालिकाबाट आर्थिक र सामाजिक विकास क्रियाकलापलाई जोड दिईएको छ ।
स्थानीयले पालिकाको अनुदान मार्फत कृषि तर्फ बाख्रा पालनका लागि आधुनिक खोर निर्माण,कृतिम गर्भाधान तथा नश्ल सुधार सेवा, समूह स्तरमा ब्याड बोका वितरण, अनुदानमा सिंचाइ समाग्री वितरण, बेमौसमी तरकारी खेती प्रवद्र्धनका लागि बीउ वितरण, सुन्तला एवम् कफी खेतीका लागी अनुदानमा बेर्ना वितरण, मौरीका घार वितरण भएको छ । इच्छाकामना गाँउपालिकाका अध्यक्ष दान बहादुर गुरुङका अनुसार चितवनको समथर भुमिबाट माथि पहाड तिर जाँदा यो चेक पोष्टको रुपमा चौकीहरु र गढीहरु रहेको बताउनुभयो ।
अहिले पनि धेरै ठाँउहरुको नामको पछाडी चौकी छ । नाकाका रुपमा चेक जाँच पछि मात्रै काठमाडौ मानिस जाने भएर ठाँउहरुको नाम चौकी रहेको हुनसक्ने स्थानीयको भनाई छ । भरतपुर चितवनको मुकाम कायम हुनु पहिला पुरानो सदरमुकाम उपरदाङगढीबाट प्रशासनिक कामहरु हुने गर्दथे । अंगेज युद्धमा पहिलो भिक्टोरिया क्रस पाएर सम्मानित हुने विर नेपाली लछुमान गुरुङको जन्मथलो यँही ठाँउमा रहेको गाँउपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । पालिकाले होम स्टे घरबासको माध्यमबाट आन्तरिक एवम् बाह्य पर्टयकहरुको आकर्षकको केन्द्र लक्ष्य राखेको छ । होमस्टे सञ्चालनमार्फत स्थानीयको आयस्तरमा वृद्धि हुने अध्यक्ष गुरुङको भनाइ थियो ।
सामुदायिक होमस्टमा बिदाको दिनमा पहिले नै फोनमार्फत खबर गरि बुकिङ हुने गरेको स्थानीय मायाटार होमस्टेका संचालक टीका गुरुङले बताउनुभयो । स्थानीय उत्पादनमा पाहुनाहरु रमाएको देख्दा हामी स्थानीय निकै खुशी हुन्छौं । उहाँले भन्नुभयो, “ लोकल कुखुरा, बोका, खसी, फर्सी, स्कुस, निगुरोमा पाहुना रमाउनुहुन्छ ।” चितवनको तराई क्षेत्रमा अत्यधिक गर्मी हुँदा पनि गर्मी छल्न यहाँ आएका पर्यटकहरुले सिरक ओढेर सुत्नुपर्छ ।

यहाँ चितवनसहित काठमाडौँ, मकवानपुर, पर्सा, नवलपरासी, कास्कीलगायतका धेरै जिल्लाबाट आन्तरिक पर्यटक घुम्न आउने गुरुङले बताउनुभयो । इच्छाकामना गाँउपालिका समुन्द्रिक सतहबाट करिब तीन हजार ५०० मिटर उचाइमा छ । भरतपुरबाट करिब २ घण्टाको हाराहारीमा उपरदाङ गढी हँदै मायाटार, घुर्केस सामुदायिक होमस्टे क्षेत्र पुग्न सकिन्छ । शक्तिखोर हुँदै त्यहाँ पुग्ने सडक कालोपत्रे छ । पृथ्वी राजमार्ग तर्फबाट पनि सोही समय हाराहारी उपरदाङ गढी, मायाटार क्षेत्र पुग्न सकिन्छ । विशेष गरेर मायाटारसहित नजिक रहेका गुरुङ बस्ती, घुर्केस र डाँडागाउँमा होमस्टे सञ्चालन भइरहेको छ ।
वि.स. २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २७,६४३ रहेको जसमध्ये ५०.७ % पुरुष र ४९.३ % महिला छन् । गाउँपालिकामा जनजातीहरुमा गुरुङ्ग, मगर, तामाङ्ग, नेवार, थकाली, अति सिमान्तकृत चेपाङ्ग, अल्पसंख्यक मुस्लिम तथा खस आर्यमा ब्राह्रमण, क्षेत्री, ठकुरी र दलित बसोबास गर्दछन् ।





