मेघौली, फागुन १२ :
पश्चिम चितवनको सुन्दर पर्यटकिय नगरी मेघौलीमा दश वर्षपछि पाँचौं पटक पर्यटन महोत्सव गर्न लागिएको छ । नेपालमै पहिलो पटक २०५७ सालमा तत्कालिन अवस्थामा गाविस स्तरबाट महोत्सव गर्ने मेघौली पहिलो थियो । मेघौली हाल भरतपुर महानगरका २७ र २८ गरी दुई वडामा पर्दछ ।
२०६६ सालसम्म नियमित रुपमा हुँदै आएपनि त्यसयता महोत्सव हुन सकेको थिएन । यही फागुन १८ गतेदेखि २४ गतेसम्म हात्तीपोलो मैदानमा हुन गईरहेको मेघौली पर्यटन महोत्सवमा स्थानिय थारु, कुमाल, मगर, गुरुङ, ब्राम्हण–क्षेत्री, दराई लगायतका आदिवासी, जनजाती एवं विभिन्न जातजातीका संस्कृतीहरु प्रस्तुत गरिने छ ।
महोत्सवमा आउँने दर्शकहरुको मनोरञ्जनलाई ख्यालगरि आयोजकले राष्टिय देखि स्थानिय सम्मका चर्चित कलाकारहरुलाई निम्ता गरेको छ । एक साता लामो महोत्सवमा देश विदेशमा छरिएका नेपालीहरुका प्रिय हाँस्य कलाकार मनोज गजुरेलदेखि युवा पुस्ताले अत्यन्त रुचाएका गायक तथा मोडेल दुर्गेश थापा, लोकप्रिय गायीका तथा बेली डान्सर प्रिती आले लगायतले माहोल तताउँने छन् ।कलाकारहरु मिलन लामा, बबिता बानिया जेरी, तेजश रेग्मि, सम्झना भण्डारी, सरिता गुरुङ श्रेष्ठ, ढाकाराम पौडेल, शक्ति गोदार, उमादेवि खनाल, जी वि सुनार लगायतको प्रस्तुती रहने साँस्कृतिक उपसमितीका संयोजक मुक्ति सापकोटाले जानकारी दिए । सापकोटा आँफैपनि प्रत्यक्ष दोहोरी तथा लोक गीत गायनमा निकै रुचाइएका प्रतिभा हुन् ।
महोत्सव स्थलमा अहिले धमाधम काम भईरहेको छ । सांस्कृतिक घरहरु निर्माण, स्टल बुकिङ, रमाईलो मेला निर्माण लगायतका कामहरु भईरहेको महोत्सव आयोजक मुल समारोह समितीका सचिव पिताम्बर अर्यालले जानकारी दिनुभयो । सबैकुरा भएर पनि पछिल्लो समय ओझेलमा परेको मेघौलीमा पर्यटकिय गतिबिधि बढाउँन महोत्सव कोषेढुङ्गा सावित हुने मुल समारोह समितीका सह संयोजक श्याम अधिकारीले बताउँनुभयो ।
करिब ९० ओटा ब्यवसायीक स्टल रहने महोत्सवको लागत करिब ४० लाख लाग्ने छ भने आयोजकले ५० लाख उठाउँने लक्ष्य लिएको छ । मेघौली पर्यटन विकास समिती, भरतपुर वडा नं. २७ र २८ कार्यालयका साथै मेघौली उपभोक्ता समितीले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् ।





