चितवन, बैशाख ३१- चितवन राष्ट्रिय निकुञ्जको माडी बगाइ सेक्टरको इच्छानगरमा जङ्गली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बिहीबार हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ बस्ने ६० वर्षीय गोविन्दबहादुर राउतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जमा च्याउ टिप्न गएका बेला हात्तीसँग जम्काभेट हुँदा उनलाई हात्तीले आक्रमण गरेको हुनसक्ने निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले राउतको घटनास्थलमा नै मृत्यु भएको बताए ।
चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिए । वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेमध्ये हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको अधिकारीको भनाइ छ ।
हात्तीको आक्रमणबाट मृत्यु हुनेमध्ये दुई जनालाई जङ्गली हात्ती र एक जनालाई घरपालुवा हात्तीले आक्रमण गरेको अधिकारीले बताए । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका अन्य घटनामध्ये बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट तीन तथा गौरीगाई र बँदेलको आक्रमणबाट एक/एक जना रहेका छन ।





